दाङ, २९ कार्तिक ।
चाडपर्वको समयमा रमाइलोका लागि जुवा खेल्ने प्रचलन मौलाउँदै गएको छ । कानूनी रूपमा जुवा खेल्न बन्देज लगाइएको भए पनि दशै र तिहारको समयमा जुवा तास खेल्ने प्रवृति बढिरहेको छ ।
यसपालिको दशैँ र तिहारको अवधिमा दाङ प्रहरीले जुवा खेल्ने ९२ जनालाई पक्राउ गरेको छ । अन्य समयको तुलनामा दशै र तिहार पर्वको समयमा जुवाडेहरु सक्रिय हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दाङको तुलसीपुर, घोराही, शान्तीनगर, दंगिशरण, देउखुरी लगाएतका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो । गत असोज १६ गतेदेखि कार्तिक २० गतेसम्म ९२ जना जुवाडे पक्राउ पर्दा ९ लाख ९७ हजार ९ सय ८५ रुपैंया नगद समेत बरामद गरिएको डिएसपी थापाले बताउनुभयो ।
जुवाडेलाई जुवा खेल्ने ठाउँहरूमा छापा मारी पक्राउ गरेको डिएसपी थापाको भनाई छ । जुवा खेल्ने गतिविधि रोक्न स्थानीय समुदायको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो । तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ ।
उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ ।
दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ । यद्यपि जुवा खेल्ने प्रवृति अझै पनि कायम रहेको छ ।

