२०८१ मङ्सिर २४ गते सोमवार

दाङमा नेकपा बहुमतका कार्यकताले मिटरव्याजी दम्पतिको नाक काटिदिए



तस्बिर:मुलपाटीबाट साभार

तुलसीपुर ६ मंसिर
दाङमा नेकपा (बहुमत) का कार्यकर्ताहरुले मिटरब्याजी आरोपित एक दम्पतीको नाकै काटिदिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी धर्मबहादुर बस्नेत र उहाँकी श्रीमती माधवा बस्नेतको बहुमतका कार्यकर्ताले नाक काटेका हुन् ।

नेकपा (बहुमत) का दाङ जिल्ला सेक्रेटरी अमरले जारी गरेको विज्ञप्ती अनुसार घोराहीको मुख्य बजार क्षेत्र बिपी चोक नजिकै आज बिहान पौने १० बजे बस्नेत दम्पतीको नाक काटिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले बस्नेत दम्पतिको नाकमाथि धारिलो हतियार प्रहार भएको पुष्टि गर्नुभयो । उहाँले दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताउनुभयो । घटना संलग्न समुहमाथि अनुसन्धान भइरहेको बताउनुभयो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार पिलासले नाक समातेर चक्कुले उनीहरुको नाक काटिएको हो । नेकपा बहुमतले बस्नेत दम्पतीले १ सय ६८ बढी सर्वसाधारणसँग मिटर ब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाही गरेको जनाएको छ ।

बस्नेत दम्पतीलाई दाङ प्रहरीले गत साउन महिना मिटर व्याजी काण्डमा पक्राउ गरेर एक महिना हिरासतमा राखेको नेकपा बहुमतको विज्ञप्तीमा उल्लेख छ । आज बिहान सर्वसाधारणको घरघरमा गएर पैसा उठाउँदै गरेको अवस्थामा फेला पारेर बहुमतका कार्यकर्ताहरुले उनीहरुलाई कारबाहि गरेको जनाएका छन् ।

जाली तमसुक बनाएर जनतालाई बेघरबार बनाएको, खाली चेक लिएर मनोमानी ढंगले रकम लेखेर मुद्धा हाल्ने काम गरेको, हुण्डी कारोबारमा संलग्न रहेको, मिटर ब्याज मार्फत संगठित अपराध गरेको, सरकारी सेवामा हुँदा चरम अख्तियार दुरुपयोग गरेको लगायतका कारण जनकारबाही गर्न परेको बहुमतले एक बिज्ञप्ती मार्फत जनाएको छ ।

यससँगै नेकपा बहुमतले मिटर व्याजी धन्दामा संलग्न भएको भन्दै उनीहरुको चार्ट समेत सार्वजनिक गरेको छ । नेकपा बहुमतले विभिन्न आरोपसहितको विज्ञप्ती सार्वजनिक गरेको छ भने १५ दिन भित्र जनताको घर जग्गा र चेक अनादरका मुद्धा फिर्ता गर्न चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार