तुलसीपुर,१० मंसिर ।
महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले हस्तकला सामग्री निर्माण सम्बन्धी तालिम आजदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर दुई तकियापुरमा सुरु भएको छ। ग्रीन फाउन्डेसन नेपाल,आर.आर.आई तथा वडा नम्बर २ कोे संयुक्त आयोजनामा थाकल,मकैको पात, पोखर र परालको उपयोगबाट हस्तकला सामग्री निर्माण सम्बन्धी तालिम दिन सुरु गरिएको हो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले महिलाहरूको आत्मनिर्भरता र उद्यमशीलता विकासका लागि यस्ता तालिमहरूको आवश्यकता रहेको बताउनुभयो। महिलाहरूको जीवनस्तर सुधार्न सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो ।
विशेषगरी तालिमले ग्रामीण क्षेत्रका महिलाहरूलाई हस्तकला सामग्री उत्पादनमार्फत आयआर्जनका लागि सक्षम बनाउने र उनीहरूको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि वडा नम्बर दुईका अध्यक्ष भिम बहादुर योगीले तालिमले ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पु¥याउने भएकाले महिलाहरूलाई सीपमूलक तालिमले आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा हस्तकलाका परम्परागत सीपसँगै आधुनिक डिजाइन र प्रविधिको ज्ञानसमेत प्रदान गरिनेछ।
कार्यक्रममा ग्रीन फाउन्डेसन दाङका सचिव जितबहादुर खड्का,कोषाध्यक्ष अम्बिका योगी, वडा सदस्य मोहनलाल डाँगी,वडा सचिव माधव पौडेल स्थानीय माया सुनार, हुमा घर्ति र शंकर डाँगी लगायतले महिलाको क्षमता अभिवृद्धि र उद्यमशीलता विकासमा यस्ता तालिमहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए।
ग्रीन फाउन्डेसन दाङका कोषाध्यक्ष अम्बिका योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक दिपक परियारले गर्नुभएको थियो । १५ दिन सम्म सञ्चालन हुने तालिममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १,२,३ र ८ का ३० जना महिलाहरुको सहभागिता रहेको छ ।