२०८१ मङ्सिर २४ गते सोमवार

हात्तिपाइले रोग विरुद्धको औषधी सेवनको प्रभावकारिता मूल्याङ्कन गरिने



तुलसीुपर, १२ मंसीर ।
हात्तीपाइले रोगको उपचारमा प्रयोग भइरहेको औषधीहरूको प्रभावकारिता मूल्याङ्कन गर्नका लागि तुलसीपुरमा आइडिए इम्प्याक्ट सर्भे ( औषधी सेवनको प्रभावकारिता मूल्याङ्कन) गरिने भएको छ ।

दाङमा विगत १३ वर्ष देखि हात्तीपाइले विरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन भएपनि अवस्थामा उल्लेख्य सुधार आउन नसकेपछि सर्भे गर्न लागिएको हो । हात्तीपाइले रोग निवारणमा औषिधको प्रभावकारीता विषयमा आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालय खर्चवामा सरोकारवालासंग छलफल भएको छ ।

वडा भित्र हात्तीपाइले विरुद्धको आम औषधि सेवनमा सहभागी भएका तथा नभएका घरका सदस्यहरुमा नमुना सर्वेक्षण गरिने नगर स्वास्थ्य केन्द्र प्रर्सेनिका प्रमुख वासुदेव चौधरीले जानकारी दिनुभयो । आइडिए इम्प्याक्ट सर्भेमा रगतको जाँच गरिने तुलसीपुर उपमहानगरपालिकाका सिअहेव विष्णु गिरीले बताउनुभयो । गिरीका अनुसार घरमै पुगेर दिउँसो र रातीको समयमा गरी दुई पटक रगतको जाँच गरिनेछ ।

रगतको नमुना लिदा दिउँसो पोजेटिभ र राती नेगेटिभ देखिएमा औषधी सेवन नगरेको तथा समुदायमा हात्तीपाइले फैलाएको मानिने जानकारी दिनुभयो । तर दिउँसो नेगेटिभ र राति पोजेटिभ हुँदा कुनै समय सक्रमण भएको तर परिजिवि सक्रिय नभएको अवस्था मानिने बताउनुभयो । रातीको जाँच भने १० बजेदेखी २ बजेको समयमा गर्नुपर्ने हुन्छ ।

दिउँसोको रगत जाँचमा सहभागी भएका रातिको दोस्रो जाँचमा अनिवार्य सहभागी हुनुपर्ने बताउनुभयो । एकपटकको जाँचमा मात्र सहभागी भएको केसलाई पोजेटिभ मानीने भएकाले दुबै चरणको जाँचमा सहभागी हुन सबैमा गिरीले अनुरोध गर्नुभएको छ ।

हात्तीपाइले रोग निवारणका लागि सर्भेले औषधीको प्रभावकारिता मापन गरेर सही उपचार विधि चयन गर्न मद्दत पुर्याउन वडा अध्यक्ष राम बहादुर जिसीले बताउनुभयो । हात्तीपाइले रोगलाई सन २०३० सम्म नेपालवाट अन्त्य गर्ने सरकारको लक्ष्य सफल बनाउन सहभागिताका लागि अध्यक्ष जिसीले सबै वडावासीलाई अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा स्वास्थ्य स्वयमसेवीका, प्रहरी, जनप्रतिनिधि, स्वास्थयकर्मी, पत्रकार तथा स्थानीयहरुको सहभागिता रहेको थियो ॥

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार