दाङ, १५ मंसिर ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले भाेलि बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलकाे प्रति लिटर १ रुपैयाँ ,हवाई इन्धनकाे प्रति लिटर २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको हो ।
मूल्य बढेसँगै पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ रहेको छ ।
त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ ।
खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि साविकको मूल्य नै कायम राखिएको निगमले जनाएको छ । नयाँ मूल्य आईतवार बिहान १ बजेदेखि लागू हुनेछ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।
नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।