दाङ, १८ मंसिर ।
अपांगता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा समान पहुँच सुनिश्चित गर्न नीति निर्माणदेखि व्यवहारिक कार्यान्वयनसम्म ध्यान दिनुपर्ने तुलसीपुरमा आयोजित कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।
तुलसीपुरमा ३३ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विशेष कार्यक्रमका सहभागीले शिक्षा, यातायात, सामाजिक र आर्थिक क्षेत्रमा समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका हुन् ।
‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार ः अपांगता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको नेतृत्व र उनीहरूको अधिकारलाई सुनिश्चित गर्ने विषयमा व्यापक छलफल गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमको आयोजनामा गरेको हो । तुलसीपुर उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको अध्यक्षता तथा उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाह, महिला अधिकारकर्मी सुश्मा गिरी, राष्ट्रिय अपांग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगी र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले अपांगता भएका व्यक्तिहरूको समावेशी विकास र उनीहरूको अधिकार सुनिश्चित गर्न समुदाय, संघसंस्था र स्थानीय सरकारबीच सहकार्यको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगीले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । उहाँले अपांगता भएका व्यक्तिहरूलाई नेतृत्वको अवसर प्रदान नगरी समावेशी र दिगो विकासको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले स्वागत मन्तव्य दिँदै अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि तुलसीपुर उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले १५ सिटभन्दा बढी भएको बसमा २ जना अपांगता भएका व्यक्तिका लागि छुट हुने भएपनि अनलाइन टिकटमा समस्या भएको गुनासो आएको बताउनुभयो । उहाँले यसका लागि यातायात व्यवसायीले कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
महिला अधिकारकर्मी सुश्मा गिरीले अपांगता भएका महिलाहरूले झेल्दै आएका चुनौतीहरूबारे प्रकाश पार्दै उनीहरूलाई समान अवसर र सम्मानजनक जीवन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण अपांग समाज सुधार केन्द्रका महासचिव दोलख खत्रीले गर्नुभएको हो ।