तुलसीुपर, १९ मंसीर ।
दाङको तुलसीपुरमा राष्ट्रिय हात्तिपाइले रोग निवारण सम्बन्धी आइडिए इम्प्याक्ट सर्भे ( औषधी सेवनको प्रभावकारिता मूल्याङ्कन) गरिने भएको छ ।
आज तुलसीपुर उपमाहनगरपालिका वडा नंम्बर १२ को नगर स्वास्थ्य केन्द्र रझेनीमा सरोकारवालाहरुसंग वडा स्तरीय अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो ।
वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा सरोकारवालासंग अभिमुखिकरण गोष्ठी भएको हो । दाङमा विगत १३ वर्ष देखि हात्तीपाइले विरुद्धको औषधी सेवन कार्यक्रम सञ्चालन भएपनि उल्लेख्य सुधार आउन नसकेपछि सर्भे गर्न लागिएको भिभिडि आरसीडि हेटौडाका ल्याव प्राविधिक निरीक्षक राजकुमार रितेनीले बताउनुभयो ।
एउटा वडा भित्रमा १०५ जना व्यक्तिहरुको नमुना सर्वेक्षण गरीने रितेनीले बताउनुभयो । हात्तीपाइले विरुद्धको औषधि सेवनमा सहभागी भएका तथा नभएका घरका सदस्यहरुमा नमुना सर्वेक्षण गरिने उहाँले जानकारी दिनुभयो । आइडिए इम्प्याक्ट सर्भेमा रगतको जाँच गरिने छ । रितेनीका अनुसार घरमै पुगेर दिउँसो र रातीको समयमा गरी दुई पटक रगतको जाँच गरिनेछ ।
उहाँले रगतको नमुना लिदा दिउँसो पोजेटिभ र राती नेगेटिभ देखिएमा औषधी सेवन नगरेको तथा समुदायमा हात्तीपाइले फैलाएको मानिने जानकारी दिनुभयो । तर दिउँसो नेगेटिभ र राति पोजेटिभ हुँदा कुनै समय संक्रमण भएको तर परिजिवि सक्रिय नभएको अवस्था मानिने बताउनुभयो । रातीको जाँच भने १० बजेदेखी २ बजेको समयमा गर्नुपर्ने हुन्छ ।
दिउँसोको रगत जाँचमा सहभागी भएका रातिको दोस्रो जाँचमा अनिवार्य सहभागी हुनुपर्ने उहाँले बताउनुभयो । हात्तीपाइले रोग निवारणका लागि सर्भेले औषधीको प्रभावकारिता मापन गरेर सही उपचार विधि चयन गर्न मद्दत पुर्याउने वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
हात्तीपाइले रोगलाई सन २०३० सम्म नेपालवाट अन्त्य गर्ने सरकारको लक्ष्य सफल बनाउन वडा अध्यक्ष चौधरीले सबै वडावासीलाई अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा स्वास्थ्य स्वयमसेवीका, प्रहरी, जनप्रतिनिधि, स्वास्थयकर्मी, पत्रकार तथा स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नगर स्वास्थ्य केन्द्र रझेनीका इन्चार्ज मोहन पौडेलले गर्नुभएको हो ।

