२०८१ माघ ६ गते आइतवार

वडा कार्यालय आफ्नै भवनबाट संचालनमा



दाङ, २२ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को कार्यालय आजदेखि आफ्नै भवनबाट सञ्चालनमा आएको छ । वडा कार्यालयले आज भवनको उद्घाटन गरेको छ । तोप्पापानीमा रहेको भवनको लुम्बिनी प्रदेशका प्रथम मूख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै पोखरेलले वडाको आफ्नै भवन भएपछि सेवामा थप सहजता आउने बताउनुभयो ।

यस्तै वडा अध्यक्ष प्रेमनाथ योगीले वडाको आफ्नै भवन भएपछि कार्यालयको स्थायित्व, सेवा प्रवाहमा सहजता र आर्थिक खर्च कटौतीमा सहयोग पुग्ने बताउनुभयो ।

स्थानीयको सक्रिय सहभागिता र उपमहानगरको बजेट सहयोगले भवन निर्माण गरिएको बताउनुभयो । यसअघि वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।

भाडाको घरमा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । तोप्पापानीमा नयाँ भवन निर्माण भएपछि विभिन्न सेवा तथा सुविधा एकीकृत रूपमा प्रदान गर्न सहज हुने अध्यक्ष योगीले बताउनुभयो ।

स्थानीय नागरिकले वडाको आफ्नै भवनबाट सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । वडा कार्यालयले आज आफ्नो भवनमा औपचारिक उद्घाटन कार्यक्रम गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, सरोकारवालाहरू र नागरिकको उत्साहजनक सहभागीता रहेको थियो ।

तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक वडामा आफ्नै भवन निर्माण गरी सेवा सहज बनाउने लक्ष्य लिएको छ । वडा सचिव मेघलाल भुषालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सदस्य रामबहादुर पौडेलले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार