
दाङ, २ पुस ।
मुक्त कमलरीहरू पछिल्लो समय आत्मनिर्भरता र स्वावलम्बनतर्फ अग्रसर हुँदै गएका छन् । तुलसीपुर-१८ बकुलाहीका मुक्त कमलरी मनप्यारी चौधरीले दुई कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले गोभी सागलगायत तरकारी बिक्री गरी घरायसी खर्च व्यवस्थापन गर्नुका साथै आर्थिक रुपमा आत्मनिर्भर बन्नुभएको छ । घरायसी काम सकेर बाँकी समय सदुपयोग गर्दै खेती गर्ने गरेको उहाँको भनाइ छ ।
चौधरीले सुरुमा मुक्त कमलरी विकास मञ्चको घुम्ती कोषबाट ३० हजार ऋण लिएर खेती सुरु गर्नुभएको थियो । अहिले उहाँ तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आइरहनुभएको छ ।
अर्का मुक्त कमलरी आशा चौधरीले व्यावसायिक बाख्रापालन सुरु गर्नु भएको छ । बिगत दुई वर्षदेखि बाख्रापालन गदै आएका आशाले अहिले मुक्त कमलरी विकास मञ्चको घुम्ती कोषबाट ३० हजार ऋण लिएर उहाँले नौ वटा बाख्रा पाल्नु भएको । अहिले राम्रो आम्दानी गरिरहेको र थप सहयोग पाए व्यवसाय विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
यस्तै, तुलसीपुर-१८ गैरा बिजौरीकी मुक्त कमलरी अमृता चौधरीले पनि दुई वर्षदेखि बंगुर पालन गर्दै आउनुभएको छ । अहिले उहाँको खोरमा चारवटा बंगुर रहेका छन् । यसबाट घरव्यवहार चलाउन सहज भएको उहाँले बताउनुभयो ।
मुक्त कमलरीहरूको यो प्रयासले उनीहरूलाई आर्थिक स्वावलम्बनतर्फ अघि बढाउन मद्दत गरेको छ । पछिल्लो समय धेरै मुक्त कमलरी व्यवसायमा संलग्न हुँदै आयआर्जनमा सक्रिय बनेका छन् ।
यसैबिच मुक्त कमलरी विकास मञ्च दाङले तुलसीपुरमा सञ्चालन गरेको परियोजना अन्तर्गतका कार्यक्रमको स्थानीय सरकारले अनुगमन गरेको छ । आज सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १५,१६ र १८ मा विभिन्न समूहहरुको अनुगमन गरिएको हो ।
स्थानीय सरोकारवाल निकाले परियोजना अन्तर्गत सञ्चालीत समूह, युवा क्लव र समूहका सदस्यले गरेको व्यवसायहरुको अनुगमन गरेकोे हो । मुक्त कमलरी विकास मञ्च र आइएम नेपालको संयुक्त साझेदारीमा सञ्चालित मुक्त कमलरी सशक्तिकरण परियोजनाले बिपन्न, सिमान्तकृत तथा यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई अगाडी ल्याउनको लागि परियोजना सञ्चालन गरेको मुक्त कमलरी विकास मञ्च दाङका कार्यक्रम संयोजक सुलोचना चौधरीले बताउनुभयो ।
मञ्चले मुक्त कमलरी, दलित तथा अति विपन्न परिवारका महिलालाई सहयोग गर्दै आएको छ । मुक्त कमलरी विकास मञ्च दाङका कार्यक्रम संयोजक चौधरीका अनुसार महिलालाई पेसा र व्यवसायमा जोड्न व्यावसायिक सीपमूलक तालिम र बिनाब्याजमा आर्थिक सहयोग गर्ने गरेको छ । परियोजना अन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा ७ वटा समूह र ४ वटा युवा क्लव गठन गरिएको छ ।
अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले किसानहरुको समस्यालाई पालिकाले सम्बोधन गर्ने बताउनुभयो । उहाँले समूहमा आबद्ध महिलाहरुलाई उत्पादनमुखी व्यवसायमा लाग्न आग्रह गर्नुभयो । साथै उहाले किसानहरुलाई पशु विमा र तरकारी खेतिको विमा बनाउन आग्रह गर्नु भएको हो ।
अनुगमनमा तुलसीपुर-१६ का वडा अध्यक्ष शिवानन्द डाँगी, तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ,उद्योग व्यवसाय तथा पर्यटन प्रबद्धन शाखाका रेखा शर्मा, पुशु सेवा शाखाका नवराज रेग्मी, कृषि शाखाका शंकर न्यौपाने, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।