दाङ,८पुस ।
वर्तमान समयमा नेपाल र संसारले भोगिरहेको आर्थिक संकटको समाधानका लागि उद्यमशीलता विकासलाई प्राथमिकता दिनुपर्ने ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले बताउनुभएको छ ।
देशभित्र रोजगार अभावका कारण लाखौं नेपाली युवाहरु विदेशिन बाध्य भएका छन्। उहाँले भन्नुभयो- “जहिलेसम्म हामी किन्नेवाला बन्छौं, त्यो दिनसम्म हामी गरिबवाला रहन्छौं। तर,जुनदिन बेच्नेवाला बन्ने सोचको विकास गर्छौं, त्यो दिन हामी धनिवाला बन्ने छौ।“
तुलसीपुरमा तीन साता लामो समयसम्म आयोजित बाँसका सामग्री निर्माण तालीमको समापन अवसरमा आयोजित बाँस,कृषि र वन उद्धम सम्मेलनमा प्रमुख अतिथि पाण्डेले यस्तो बताउनुभएको हो ।
स्थानीय स्रोतहरूको अधिकतम उपयोग गरेर बाँस जस्ता सामग्रीमा आधारित उत्पादनहरू,जस्तै फर्निचर, हस्तकला र निर्माण सामग्री सजिलै वाह्य मुलुकमा समेत निर्यात गर्न सकिने भएकाले यसले रोजगारी सिर्जना गरी देश आर्थीक रुपमा सम्वृद्ध हुने उल्लेख गर्नुभयो ।
उद्यमशीलता विकास र स्थानीय स्रोतहरूको अधिकतम उपयोग गरि देशलाई गरिबीबाट मुक्त गराउँदै आर्थिक उन्नति गर्न सकिनमा पाण्डेले जोड दिनुभयो ।
डिभिजन वन कार्यालय दाङका प्रमुख ईश्वरी पौडेलले “एक वन, एक उद्यम” कार्यक्रम जिल्लामा प्रभावकारी बन्न नसकेको बताउनुभयो । जिल्लामा अहिले ३सय ८५ सामुदायिक वनहरू भएपनि यो कार्यक्रमले अपेक्षित परिणाम दिन नसकेको धारणा राख्नुभयो ।
पौडेलले बाँसमा आधारित उद्यमहरू र बाँस गाउँ निर्माणको अवधारणाले सामुदायिक वन र स्थानीय समुदायको आर्थिक स्थिति सुधार्न महत्त्वपूर्ण योगदान दिनसक्ने बताउनुभयो।
तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष माधव वलीले बाँस खेतीलाई प्रोत्साहन गर्न कृषकहरूलाई आवश्यक तालिम र प्रोत्साहनका कार्यक्रम आयोजना गरिने बताउनुभयो । साथै बाँस उत्पादनका लागि स्थानीय स्रोत-साधनको उपयोग गरि स्थानीयलाई आकर्षित गर्ने खालका कार्यक्रम पालिकाको तर्फबाट सञ्चालन गरिने बताउनुभयो।
बाँस जस्तै वहुउपयोगी र दिगो साधनको सही उपयोगले मात्र पर्यावरणीय चुनौतीहरू समाधान र आर्थिक प्रगति गर्न सजिलै सकिने भएकाले यसलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले काम गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।
तुलसीपुर-२ का वडाअध्यक्ष भिम बहादुर योगी,तुलसीपुर-३ का वडाअध्यक्ष विरबहादुर विक, तुलसीपुर-८ का वडाअध्यक्ष धर्म वली, दंगीशरण-६ का वडाअध्यक्ष रोशनजंग शाह, पारिवारिक निजि वन संघ लुम्बिनी प्रदेश अध्यक्ष पदम केसी,स्थानीय वन महासंघ शान्तिनगरका अध्यक्ष भिम खत्री,तुलसीपुर मेट्रो कलेजका प्रमुख बसन्त आचार्य,नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द« बस्नेत,तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी,तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष ऋषि भण्डारी लगाएतले तालिममा मात्र सिमित नभई उद्धम र व्यवसायको दिगोपनाको वारेमा सोच्नुपर्नेमा जोड दिएका थिए।
नेपालमा बाँसको अवस्था र उपयोगिताका बारेमा जलाधार तथा भुसंरक्षण कार्यालयका वरिष्ठ भू-संरक्षण अधिकृत राकेश शाहीको प्रस्तुतीकरण रहेको थियो ।तालिममा कर्णाली प्रदेशको सल्यान र दाङ जिल्लाका विभिन्न स्थानहरुबाट २५ जना महिला र पुरुष प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
उनिहरुले तालीममा फोटो फ्रेम,कलमदानी,भित्ते फुलदानी,चुरा स्टेन्ड,गैजा,मुडा,डोको,छिट्वा लगाएतका सामाग्री निर्माणको सिप आर्जन गरेका छन् ।समापन कार्यक्रम ग्रीन फाउण्डेसन दाङका उपाध्यक्ष आशा जिसिको अध्यक्षतामा भएको हो ।
कोषाध्यक्ष अम्बिका योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहकजीकरण हरियाली मञ्च नेपाल दाङका अध्यक्ष सुरेश रावतले गर्नुभएको हो ।

