२०८३ बैशाख ४ गते शुक्रवार

जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकास तालिम



सल्यान, १४ पुस ।

सल्यानको कपुरकोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार जनप्रतिनिधि र कर्मचारीलाई शुक्रबार र शनिबार गरी दुई दिन क्षमता विकास तालिम प्रदान गरिएको हो ।

तालिममा जीवन जिउने कला, सकारात्मक सोच, उत्प्रेरणा, द्वन्द्व व्यवस्थापन कला,अधिकार क्षेत्रको समझ तथा सेवा प्रवाहको प्रभावकारिता वृद्धिका लागि विविध सत्र सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले जानकारी दिनुभयो । तालिमको पहिलो दिन आर्ट अफ लिभिङ्गका राष्ट्रिय अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक राजेश खड्का र पतञ्जली योग सल्यानका अध्यक्ष प्रेम आचार्यले योग, ध्यान र प्राणायाम अभ्यास गराउनुएको हो ।

यस्तै अन्तर्राष्ट्रिय वक्ता एवं आध्यात्मिक गुरु डा. चिन्तामणि नाथ योगीले नैतिकता, आध्यात्मिक चेतना, देशभक्ति र प्रेरणाको विषयमा प्रशिक्षण दिनुभयो । नेपाल सरकारका पूर्व सहसचिव सन्तबहादुर सुनुवारले स्थानीय तहमा द्वन्द्व उत्पन्न हुने कारण, यसको समाधानका उपाय, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सृजनशील कार्यक्षमताबारे प्रशिक्षण प्रदान गर्नुभयो । तालिममा गाउँपालिकाका ७० जनाभन्दा बढी जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तालिमले सहभागीहरूको व्यक्तित्व विकाससँगै गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो । तालिमहरूले स्थानीय सरकारलाई अझ सशक्त बनाउँदै सेवा प्रवाहमा सुधार गर्न सहयोग पुर्याउने उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार