
दाङ, १७ पुस।
नेपालबाट युवा पुस्ताको विदेश पलायनको क्रम पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ। नेपाल कृषिप्रधान देश हो। तर, युवा पुस्ताको आकर्षण देखिंदैन। जग्गा जमिन बाँझै पल्टिएका छन् । बाह्य मुलुकबाट आयातित दैनिक करोडौं मूल्यका तरकारी हाम्रो भान्सामा पाक्छन् । युवा पुस्तामा आफ्नै देशमा श्रम गर्ने बानीको विकास नहुँदा यस्तो समस्या देखिएको छ । श्रम गर्नेहरू उत्पादित सामग्रीले बजार नपाउँदा चिन्तित छन् । खेतबारीमा उत्पादन गरेको तरकारीले कहिले बजार नपाउँदा किसानलाई गौचरण बनाउनुपर्ने बाध्यता छ । नेपालमै कृषि कर्म गर्न खोजेकाहरू पनि सोचेअनुसार काम गर्न नपाउँदा देश छोड्ने योजना बनाइहाल्छन्।
विदेश जानु कतिपयको रहर हो भने कतिपयको बाध्यता बनेको छ । धेरैको बुझाइमा विदेशमा कामै नगरी पैसा प्रशस्त कमाइन्छ भन्ने छ । तर,घरको आर्थिक अवस्था कमजोर भएपछि आजभन्दा ठिक १० वर्षअघि दाङको घोराही उपमहानगरपालिका-६ कम्दाका गोपाल वली २१ वर्षकै उमेरमा पैसा कमाउन मलेसिया जानुभयो । तर, उहाँलाई पठाएको म्यानपावर कम्पनीले भनेअनुसार काममा नलगाई सप्लाई कम्पनीमा पठाएको कुरा मलेसिया पुगेपछि मात्र थाहा भयो।
तीन वर्षका लागि मलेसिया गएका गोपाल त्यहाँ भनेअनुसारको काम गर्न नपाएपछि विरानो मुलुकको दुई वर्षको बसाइ जसोतसो बिताएर नेपाल फर्किनुभयो। विदेशबाट फर्किए पनि उहाँलाई फेरि एकपटक विदेश नै जाने रहर थियो। त्यसैले फर्केलगत्तै घोराहीमा बसेर कोरियन भाषाको तयारी गर्न थाल्नुभयो ।
संयोगले त्यसै वर्ष कृषि क्षेत्रमा वली भाषा परीक्षा पास पनि हुनुभयो । पास भएको दुई वर्षसम्म कोरिया पुग्नुपर्ने थियो। तर, त्यतिबेला नेपालसहित विश्व नै कोरोना महामारीले आक्रान्त थियो। लामो समयसम्मको लकडाउनले गोपालको कोरिया जाने सपना पूरा हुन सकेन।
मलेसियामा आफूहरूलाई काम गर्ने क्रममा त्यहाँका नागरिकले खान नपुगेरै आएको जस्तो व्यवहार गरेको देख्दा गोपाललाई साह्रै चित्त दुख्थ्यो। देशमै रोजगारीका अवसर प्रशस्तै भए अर्काको देश जान नपाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो। तर पनि घरको गर्जो टार्न विदेशी भुमिमा पाखुरी चलाउनुपर्ने बाध्यता थियो।
त्यसकारण आफ्नै भूमिमा पसिना बगाएर रमाउने योजनासहित अन्ततः उहाँले आफनो भर घोराहीबाट करिव ३०/३५ किलोमिटर पश्चिममा रहेको तुलसीपुर उपमहानगरपालिका-४ माथिल्लो हलवारमा जमिन भाडामा लिएर तरकारी खेती सुरु गर्नुभयो ।
वलीले खेती गर्न थालेको अहिले तीन वर्ष पूरा भएको छ । काम गर्दा गोपाललाई पनि कठिनाइ नभएको भने होइन। गतवर्ष करिब एक बिघा जमिनमा लगाएको काउली र बन्दाकोपी बिक्री नभएपछि उहाँले गाईगोरुलाई खुवाउनु परेको थियो । वलीले भन्नुभयो-“कोरिया गएको भए आजभोलि अर्काको खोरिया फाँडेर टमाटर रोपिरहेको हुन्थें होला। अहिले आफ्नै देशभित्र खोरियामा टमाटर रोपिरहेको छु। म यसैमा खुशी छु।”
माथिल्लो हलवारमा वलीले खेती गरेको तीन बिघा जमिनमा अहिले लटरम्म टमाटर पाकेका छन्। टिप्नका लागि खेतभरि गोपालसँगै ज्यालादारी मजदुरी गर्ने कामदारहरू भेटिन्छन् । उनका अनुसार केही दिनअघिसम्म चार दिनको फरकमा यो सिजनमा सयदेखि १ सय १० क्विन्टलसम्म टमाटर बजारमा बिक्रीका लागि पठाउनुभएको थियो ।
हिजोआज चिसो बढेसँगै सोही परिमाणको टमाटर उत्पादन हुन एक हप्ता लाग्ने गरेको छ। अहिले प्रतिकिलो थोकमा ४० देखि ४५ र खुद्रामा प्रतिकिलो ५० रुपैयाँमा टमाटर बिक्री गर्ने गरेको वली बताउनुहुन्छ । थोक मूल्यकै हिसाबलाई आधार मान्ने हो भनेपनि उहाँले हरेक हप्ता चार लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री गर्दै आउनुभएको छ ।
गोपालले प्रति कठ्ठा पाँच हजारका दरले तीन विगाह जमिनको वार्षिक तीन लाख रुपैयाँ भाडा तिर्नुहुन्छ । खर्च कटाएर यो व्यवसायबाट वार्षिक १० लाख रुपैयाँसम्म बचत गर्न सकिने उहाँ बताउनुहुन्छ ।
तरकारी खेतीमा नियमित कामदार आवश्यक नपर्ने भएकाले सिजनमा १० देखि १५ जनाले आंशिक रोजगारीसमेत पाएका छन् । देशमा काम गर्छु भनेर गरिएको लगानीले मात्र व्यवसायबाट प्रतिफल प्राप्त नहुने उहाँको बुझाइ छ।
कुनै पनि व्यवसायलाई सफलतापूर्वक अघि बढाउन सिप, श्रम र लगानीको समायोजन मिल्नुपर्छ भन्ने ३१ वर्षीय गोपाल वलीको टमाटर खेती केवल उहाँको आयआर्जनको स्रोत मात्रै नभई नेपाली माटोमा पौरख गर्ने युवा पुस्ताहरूका लागि प्रेरणाको स्रोत बनेको छ।