दाङ, २१ पुस ।
दाङको तुलसीपुरमा मानव सेवा आश्रमको भवन निर्माणको काम अलपत्र परेको छ । आश्रमको भवन निर्माणका लागि शिलान्यास भएको एक वर्ष पुग्न लाग्दा पनि निर्माणको काम नै सुरु हुन सकेको छैन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने कालिका मालिका मन्दिर परिसर हलवारमा निर्माण हुने भवनको काम अझै सुरु हुन नसकेको हो । शिलान्यास गरिएको ठाउँमा झारले घपक्क ढाक्न थालेको छ।
विभिन्न कागजी प्रक्रियाहरु मिलाउनुपर्ने भएकोले पनि निर्माणको काम सुरु नभएको मानव सेवा आश्रम दाङ शाखा प्रमुख हिरु जोशीले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो।
महायज्ञ लगाएको रकमले भवन निर्माण गर्ने सल्लाह भएपनि प्रक्रिया नपुगेकै कारण भवन निर्माण सुरु गर्न नसकेको उहाँको भनाई छ । कागजी प्रक्रियाको काम भइरहेकोले अब पहिलो चरणमा एक फलाइट भएपनि भवन निर्माण गर्ने योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।
कालिका मालिका मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष श्रवण कुमार आचार्यले जग्गाको लालपूर्जा नभएकोले भवन निर्माणको काम सुरु हुन नसकेको बताउनुभयो । उहाँले संघिय सरकारले लालपूर्जा नभएको जग्गामा सरकारी रकम लगानी गर्न नमिल्ने निर्णय गरेको र मन्दिरको संरक्षणमा जग्गा भएपनि लालपूर्जा नहुँदा समस्या भएको बताउनुभयो ।
अब लालपूर्जाको काम टुङगिएपछि भवन निर्माणको काम अगाडी बढ्ने उहाँको भनाई छ । लालपूर्जाको लागि कित्ता नम्बर ९ ज साबिक हलवार ४१ मा रहेको १ बिगाह २ कट्ठा साढे १७ धुर जग्गा मन्दिरको नाममा ल्याउनको लागि मालपोत कार्यालय तुलसीपुरमा छुट कित्ताको निवेदन दर्ता गराएको आचार्यले जानकारी दिनुभयो ।
प्रक्रिया पुरा भएपछि भवन निर्माणको काम सुरु हुने उहाँको भनाई छ । प्रक्रिया पुरा भएपछि लालपूर्जा कालिका मालिका मन्दिरको नाममा आउने र मन्दिरको नाममा जग्गा भएपनि जग्गाको भोगाधिकार मानव सेवा आश्रमलाई दिने गत वर्ष नै पालिकासंग सम्झौता भइसकेको छ ।
भवन निर्माणका लागि गत वर्ष असार ७ गते जग्गाको सर्भे गरिएको थियो । त्यसको ठिक आठ महिनापछि गत वर्ष माघ ७ गते लुम्बिनी प्रदेशका तत्कालीन अर्थ मन्त्री धन बहादुर मास्की र तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले शिलान्यास गर्नुभएको थियो ।
भवन निर्माणका लागि सहयोगार्थ भनि गत वर्ष माघ १३ गतेदेखि २० गतेसम्म अरनिको मैदान तुलसीपुरमा ज्ञानविज्ञान महायज्ञ संचालन पनि भयो । महायज्ञ लगाएर ५ करोड रुपैया संकलन गर्ने लक्ष्य लिएकोमा प्रतिबद्धता सहित ५ करोड ४९ लाख ६२ हजार ३ सय ११ रुपैया संकलन भएको थियो ।
जसमध्ये महायज्ञबाट २ करोड ७४ लाख २० हजार ९ सय २९ रुपैँया प्रतिबद्धता मात्रको रकम संकलन भएको थियो । जुन अहिले उठ्न बाँकी रहेको छ ।
करिब १५ करोडको लागतमा भवन निर्माण हुने मानव सेवा आश्रमको योजना रहेको छ । दाङ शाखाका प्रमुख जोशीले अहिले मानव सेवा आश्रमको नाममा साढे २ करोड रकम बैंकको खातामा रहेको बताउनुभयो । भवन निर्माणको काम सुरु नभएकोले प्रतिबद्धता गरेका रकम आउन बाँकी रहेको उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका प्रमुख श्रीनारायण चौधरीले नक्सा पासको लागि साढे २ महिना अगाडी मात्रै मानव सेवा आश्रमका पदाधिकारीहरु कार्यालयमा आएको बताउनुभयो । जग्गाको लालपूर्जा नभएकोले नक्सा पासको पक्रिया अघि नबढेको उहाँको भनाई छ ।
जग्गाको लालपूर्जा भएपछि मात्रै नक्सा पास हुने र भवन निर्माणको प्रक्रिया अगाडी बढाउन सकिने उहाँले जानकारी दिनुभयो । रेडियाे हाम्राे पहुँचबाट साभार

