२०८१ फाल्गुन ६ गते मङ्गलवार

सडक सुधार र सचेतनाले मात्र सवारी दुर्घटना रोक्न सकिनेमा सरोकारवालाको जोड



दाङ, २१ पुस ।
बढ्दो सवारी दुर्घटना कम गर्न सरोकारवालाले चासो दिएका छन् । पछिल्लो समय सवारी दुर्घटना लगातार बढिरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरोकारवालाले चासो दिएका हुन् ।

रिपोर्टर्स क्लब दाङले आइतबार गरेको ‘बढ्दो सवारी दुर्घटना न्यूनिकरणमा सरोकारवालाको चासो’ विषयक कार्यक्रममा सरोकारवालाले सवारी दुर्घटना न्यूनिकरणका लागि चालकलाई जिम्मेवार बनाउनेदेखि सडकको अवस्था सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले सवारी दुर्घटनालाई कम गर्नको लागि तीनै तहका सरकारले चासो दिनुपर्ने बताउनुभयो ।

उहाँले सडक निर्माणमा सुधारको आवश्यकता रहेको बताउनुभयो । सडकहरूको अवस्था राम्रो नभएको कारण सवारी दुर्घटनाको जोखिम उच्च रहेको उहाँको भनाई छ ।

ट्राफिक व्यवस्थापनमा सहजताका लागि नेपालमा अझै पनि करिब ७ हजार कर्मजारी थप्नुपर्ने छ, तर त्यो काम पुरा हुन सकेको छैन । कर्मचारी थप गर्नको लागि लम्बिनी प्रदेश सरकारबाट पहल भइरहेको उहाँले बताउनुभयो ।

अहिले पनि नेपालमा १५ प्रतिशत विद्यालयमा पढ्ने बालबालिकाको मृत्यु हुने गरेको तथ्याङकले देखाएको छ ।

त्यसको लागि विद्यालयस्तरबाटै बालबालिकाहरुलाई सचेत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सरकारले ट्राफिक प्रहरीको सहकार्यमा सचेतनाको काम गदै आएको र माघपछि दाङमा विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

सवारी दुर्घटनालाई कम गर्नको लागि घोराही–तुलसीपुर सडक खण्डमा रहेको खाल्डा खुल्डी पुर्ने काम गरेको र फोरलेन बनाउनुको लागि पहल परेको बताउनुभयो । ट्राफिक प्रहरीहरुलाई तिब्र गतिमा रहेको सवारीलाई कारबाही गर्ने कुरामा जोड दिन आग्रह गर्नुभयो । स्थानीय पालिकाहरुले पनि दाङमा हुने सवारी दुर्घटना के कारण हुँदै छ त्यो कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीले तुलसीपुर उपमहानगरपालिकाले सचेतनाको कार्यक्रमलाई जोड दिएको बताउनुभयो । यो वर्ष मात्रै पालिकाले ४२ वटा सचेतनाका होर्डिङ बोर्ड विभिन्न ठाउँमा राखेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाहीले चालु वर्षको ६ महिनामा ४५ जनाको मृत्यु र १०४ वटा सवारी दुर्घटनाको तथ्यांक प्रस्तुत गर्दै सवारी दुर्घटनाको समस्यामा सुधार ल्याउन थप प्रयास आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका सन्तोष सुवेदी, निवर्तमान अध्यक्ष दुर्गालाल केसी, केन्द्रीय सदस्य लिला शाह, उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष बिनिल केसी, नागरिक अगुवा टीकाराम रेग्मी, स्वतन्त्र मजदुर यातायात संघ लुम्बिनीका उपाध्यक्ष केसबराज भण्डारी लगाएतकाले दुर्घटना न्यूनिकरणमा सबैको भूमिका हुने बताउनुभयो ।

रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचन्द बिक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण क्लवका सचिव बिमल गौतले गर्नुभएको हो ॥

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार