
दाङ, २५ पुस ।
तुलसीपुरमा बुधबार माघ महोत्सव गरिएको छ । महोत्सवमा मघौटा, महोत्या, झुम्रा नाँच प्रदर्शन गरिएको छ । थारु समुदायको कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि माघ महोत्सव संचालन गरिएको थारु कल्याणकारिणी सभा दाङ देउखर क्षेत्र नम्बर ३ का अध्यक्ष मोहन चौधरीले बताउनुभयो ।

महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारु समुदायले गुरी गुरी जाँर बेच्न पाउनुपर्ने बताउनुभयो । थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३ र नमुना भुह्यार थान जबरपुरको संयुक्त आयोजना तथा महतवा संघको सहआयोजनामा बुधबार भएको माघ महोत्सवमा उहाँले थारु समुदायले उत्पादन गरेको जाँर रक्सीलाई ब्राण्डिङ गरी विक्रि गर्न पाउनुपर्ने बताउनुभयो ।

जाँर, रक्सी बनाउने सिपलाई प्रयोग गरी बिक्रि गरेर आयआर्जन गर्न उहाँले थारु समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले घरमा उत्पादन गरेको रक्सीलाई ब्राण्डिङ गर्नका लागि आफूले प्रदेश सरकारसँग पहल गर्ने पनि बताउनुभयो । थारु कलाकाहरुलाई नेपाली गीतलाई थारु गीत बनाउनु भन्दा थारु भाषाकै गीत गाउन उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टीकाराम खड्काले थारु समुदायको माघ पर्वलाई नयाँ वर्ष, लोक पर्व, विधायकी पर्व जस्तै सांस्कृतिक परम्परालाई प्रवद्र्धन गर्ने र नीति निर्माण गर्ने पर्वरुपमा मनाउने गरिएको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरी, थारु कल्याणकारिणी सभा दाङ देउखरका अध्यक्ष अशोककुमार थारु, तुलसीपुर वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरीलगायतकाले थारु समुदायको कला संस्कृतिको सरंक्षण र प्रवद्र्धन गर्नका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नमुना भुह्यार थान जबरपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायण चौधरी र पत्रकार सरिता चौधरीले गर्नुभएको हो ।
प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार