२०८१ फाल्गुन ६ गते मङ्गलवार

जिङटकाे रुखबाट लडेर मृत्यु भएको भनिएका कुसारीको गोली लागेर मृत्य भएकाे पुष्टि,दुई जना पक्राउ



दाङ, ६ माघ ।
दाङमा रुखबाट लडेर मृत्यु भएका भनिएको व्यक्तिको गोली लागेर मृत्यु भएको पुष्टी भएको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी दंगिशरण गाँउपालिका वडा नम्बर २ कौवाघारीका २५ वर्षका प्रेम बहाखुर कुसारीको रुख बाट लडेर नभई गोली लागेर मृत्यु भएको पुष्टि गरेको हो ।

मृतक कुसारीसंगै दंगिशरण गाँउपालिका-२ राजाकोट सामुदायिक वनमा सिकार खेल्न गएको बेला भरुवा बन्दुकको गोली (छर्रा) लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्त तथा डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।

घटना पछि फरार रहेका प्रेमबहादुरका साथीहरुलाई दंगिशरण गाँउपालिका वडा नम्बर २ का २२ वर्षका छविलाल डाँगी र सोही ठाँउका २७ वर्षका पुष्पलाल बस्नेतलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

डाँगीलाई हिजो शनिबार नेपालगंज बाँके र बस्नेतलाई तुलसीपुर बजारबाट पक्राउ गरेको डिएसपी थापाले जानकारी दिनुभयो । माघ ३ गते बिहीबार साँझ ६ बजेतिर प्रेमबहादुरलाई गोली लागेको थियो । रुखबाट लडेर घाइते भनिएका कुसारीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज नर्सिङ होममा रिफर गरिएको थियो । कुसारीको उपचारको क्रममा सोही दिन राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुसारीको शव पोष्ट मार्टम पछि मृतकका बुवा अबिर कुसारीले घर ल्याउनुभएको थियो । घटना शंकास्पद लागेपछि आफन्तीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान गदै जादा उक्त घटना रुखबाट लडेर नभई गोली लागेर मृत्यु भएको खुलेकोे जनाएको छ ।

प्रहरीले मृतक कुसारीको शव पुनः पोष्ट मार्टमका लागि बाँके पठाएको थियो । पोष्ट मार्टम रिपोर्टमा खुट्टाको साप्रा लगायत शरीरबाट भरुवा बन्दुकको गोली फेला परेको दाङका डिएसपी थापाले बताउनुभयो ।

प्रहरीले दंगिशरण गाँउपालिका-२ राजाकोट सामुदायिक वनमा लुकाई राखेको अबस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार