
दाङ-७ माघ।
दाङको एक वडाले सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई छात्रवृत्तिस्वरूप एक हजार रुपैयाँ दिने भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना हुने विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि वडाको तर्फबाट एक हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ।
शिक्षा आर्जन गर्नबाट वडा भित्र रहेका कोही बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले सो कार्यक्रम लागू गर्न लागिएको वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो। यस्तै, कक्षा १ देखि १२ सम्म अध्ययनरत दलित विद्यार्थीलाई पोशाक निःशुल्क प्रदान गर्ने समेत निर्णय भएको अध्यक्ष रावतले जानकारी दिनुभयो।
उहाँका अनुसार सम्बन्धित विद्यालयको सिफारिसमा दलित विद्यार्थीलाई निःशुल्क रूपमा वडाले पोशाक उपलब्ध गराउने भएको छ।यो निर्णयसँगै सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि गरिएको प्रयासमा वडाको चौतर्फी रूपमा प्रशंसा भएको छ।
वडा नम्बर ११ मा ५ वटा सामुदायिक विद्यालय रहेका छन् ।अमर मावि उरहरी, शान्ती मावि नवलपुर, आवि कटाह, प्रावि पिरगाउँ र शुक्रेश्वरी प्रावि सुकौरा। यी पाँचवटै विद्यालयमा भर्ना हुने सबै विद्यार्थीमा आगामी शैक्षिक सत्रबाट यो कार्यक्रम लागू हुँदै छ।
उनै वडा अध्यक्ष हुन्, सुत्केरी हुँदा भाले बोकेर भेट्न जान्छन् भने मृत्यु हुँदा समवेदना प्रकट गर्न १ केजी घिउ बोकेर जान्छन्। यस्तै, वडाभित्र सर्पदंशका बिरामीलाई आर्थिक अभावका कारण उपचारमा समस्या नहोस् भनेर वडाकै बजेटबाट निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन्।