२०८१ फाल्गुन ६ गते मङ्गलवार

शिक्षालाई उत्पादनसंग जोड्न सके विदेश पलायनबाट रोक्न सकिन्छ : मन्त्री ढकाल



दाङ, ८ माघ ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले उच्च शिक्षाका नाममा विदेश जाने परम्परा बस्दै गएको बताउनुभएको छ ।

तलसीपुर–१२ हरिपौरीमा रहेको तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को पाँचौ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री ढकालले नेपालमै उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षालाई उत्पादनसंग जोड्न सकेमा विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभयो ।

दक्ष जनशक्ति उत्पादनमा मेट्रो कलेजले महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री ढकालले अन्तराष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादनका लागि सोहि किसिमले पाठ्यक्रम लागू गर्नुपर्ने बताउनुभयो ।

यस्तै कलेजले विद्यार्थीलाई पढ्ने वातावरण निर्माणका लागि समय सुहाउँदो पाठ्यक्रम लागु गर्नुपर्ने उहाँले बताउनुभयो । यस्तै पूर्व प्रदेश सांसद तथा कलेज संचालक समितिका सदस्य शंकर गिरीले कलेज संचालनमा पारदर्शिता ल्याउन सबै राजनीतिक दललाई समेटेर लैजानुपर्ने बताउनुभयो ।

उहाँले कुनै एउटा पाटीको मात्रै भन्दा पनि सबै दललाई समेटेर जाँदा कलेजको गरिमा अझ बढ्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी लगायतले तुलसीपुर मेट्रो कलेजले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।

वार्षिक उत्सवको अवसरमा कलेज प्रमुख बसन्त आचार्यले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट हासिल गर्ने विद्यार्थीलाई सम्मान पनि गरिएको छ । कार्यक्रमको सहजीकरण सुधासुमन ढकाल र केपि न्यौपानेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार