
दाङ, ११ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङको तुलसीपुर आउनुहुने भएको छ ।
नेकपा माओवादी केन्द्र तुलसीपुर नगर समितिको तेस्रो अधिवेशनको उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्न उहाँ तुलसीपुर आउन लाग्नुभएको हो ।
अधिवेशन उद्घाटन कार्यक्रम आज बिहान ११ बजे तुलसीपुरको अरनिको मैदानमा हुने छ । प्रचारप्रसार समिति संयोजक मिनराज वलीका अनुसार प्रचण्डको आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहिवार आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका तुलसीपुर नगर अध्यक्ष मोहन थापाले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन सबै पक्षले भूमिका खेलेको बताउनुभयो ।
त्यस अवसरमा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समिति सदस्य शेषुराम भण्डारीले प्रचण्डसँग टरिगाउँ एयरपोर्ट सञ्चालन र घोराही-तुलसीपुर सडकलाई फोर लेनमा विस्तार गर्न पहल गरिदिन आग्रह गर्ने योजना रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डको आगमनले माओवादी केन्द्रको गतिविधि र आगामी योजनाका लागि नयाँ उत्साह प्रदान गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण प्रेस सेन्टर दाङका सचिव दीपक बोहोराले गर्नुभएको हो ।