
दाङ, ११ माघ ।
सरकारको कुर्सिबाट बाहिरिएपछि फुर्सदमा भएको प्रतिपक्षि दल नेकपा माओवादी केन्द्रले अहिले देशव्यापीरुपमा खवरदारी सभाको अभियान चलाएको छ ।
करिब सात महिनाअघि सरकारको कुर्सिबाट बाहिरिएको प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी केन्द्र सरकारविरुद्ध खबरदारी सभा गर्नेदेखि संगठन मजवुत बनाउने अभियानमा छ ।
यसैक्रममा दाङको तुलसीपुरमा आज नेकपा माओवादी केन्द्रले खबरदारी सभा गरेको छ । खबरदारी सभालाई सम्बोधन गर्ने दौडाहमा रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाषणको अधिकांश समय सरकारकै गतिविधिमा खर्चनुभयो ।
उहाँले एमाले नेतृत्वको सरकारले कुशासनमा नेपालमै नयाँ रेकर्ड बनाएको आरोप लगाउनुभयो । उहाँले राज्यको जमिन व्यक्तिको नाममा बनाउनेदेखि अरबौँ कमिशन खानेविरुद्ध अभियान चलाउँदा आफु नेतृत्वको सरकार ढलेको आक्रोस पनि पोख्नुभयो ।
नेता कार्यकर्ताको ठुलो जमात देखेपछि भाषण गर्न हौसिएका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको पनि केहि कमजोरी रहेको स्विकार गर्नुभयो ।
उहाँले अहिलेको सरकारले देशलाई खाडलतिर लग्न थालेको बताउनुभयो ।
आफु नेपाली जनतासंग मिलेर जाली फटाहका विरुद्ध लागेको बताउँदै उहाँले देशलाई लोड सेडिङमुक्त बनाउने कुलमान घिसिङलाई हटाउन राज्य हात धोएर लागेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र तुलसीपुर नगरको तेस्रो अधिवेशनको अवसरमा खबरदारी सभा पनि गरिएको हो । खबरदारी सभामा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।