दाङ, १३ माघ ।
सगरमाथा बोर्डिङ स्कूलले विधार्थीहरूको बोल्ने कलाको विकासका लागि उद्घोषण तालिमको आयोजना गरेको छ। तालिममा सहभागी कक्षा ८ मा अध्ययनरत अन्जली नेपालीले आफ्नो अनुभव सुनाउँदै भनिन-“बोल्न नजाने गाह्रो हुँदो रहेछ। जुनसुकै क्षेत्रमा काम गर्न पनि बोल्ने कला अनिवार्य छ । विद्यालयले हाम्रा लागि उद्घोषण तालिम आयोजना गरेकोमा असाध्यै खुशी छु। यो तालिम हामी सबैका लागि लाभदायक हुने विश्वास गरेको छु।“
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलमा आइतबारदेखि उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।
सुसान्त चौधरी पनि कक्षा ९ मा अध्ययनरत एक विद्यार्थी हुन् । उनलार्ई बोल्ने कलामा विशेष रुचि छ। तर मञ्चमा प्रस्तुति दिने बेला उनी डराएको महसुस गर्छन्।
अहिलेको समय बजारमा सिपयुक्त जनशक्तिको माग बढेको उनले राम्ररी बुझेका छन् । त्यसैले आफ्नो डरलाई जित्दै उद्घोषण तालिममा सक्रिय रूपमा सहभागिता जनाएका छन् । उनी भन्छन्–“म भविष्यमा राम्रो नेतृत्वकर्ता बन्न चाहन्छु। त्यसका लागि अहिले नै बोल्ने कलामा निपुण हुन जरुरी छ।“
बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको स्कुलका प्रधानाध्यापक छविकुमार वलीले बताउनुभयो । तालिमबाट विद्यार्थीहरूको उद्घोषण क्षमतामा अभिवृद्धि गर्ने उद्देश्य लिएको उहाँले बताउनुभयो । उहाँले बजारमा बिक्ने र टिक्ने जनशक्ति उत्पादनका लागि बोल्ने कलाको विकास अनिवार्य रहेको बताउनुभयो ।
तालिमका प्रशिक्षक बसन्त पौडेलले सफल उद्घोषकका लागि ध्यान दिनुपर्ने कुराहरूमा प्रकाश पार्दै आत्मविश्वास, भाषा चयन र प्रस्तुति शैलीको महत्वबारे जानकारी दिनुभयो । उहाँले स्पष्टता, समय व्यवस्थापन र दर्शकसँगको सम्बन्ध कायम गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
यसैगरी, प्रशिक्षक जीतसागर जी.एमले समाचारको महत्व र समाचार तयार पार्नका लागि आधारभूत पक्षहरूको चर्चा गर्नुभयो । उहाँले समाचारको प्रस्तुति तथ्यहरूको प्रमाणिकता, समसामयिक विषयमा ज्ञानका बारेमा विद्यार्थीलाई मार्गदर्शन गर्नुभयो ।
तालिमबाट विद्यार्थीहरूलाई आफ्नो व्यक्तित्व विकास र सञ्चार क्षमतामा सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको प्रिन्सिपल वलीले बताउनुभयो । तालिममा सहभागी विद्यार्थीहरूले उद्घोषण र समाचार लेखनका नयाँ प्रविधिहरू सिक्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् ।
सगरमाथा बालबाटिका बोर्डिङ स्कुलले यस्तो खालका कार्यक्रमहरू निरन्तर सञ्चालन गरेर विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्दै आएको स्कुलका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले बताउनुभयो ।

