
दाङ,१५ माघ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका- ७ मा १ हजारभन्दा बढी किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप लगाउन लागिएको छ ।
माघ २२ गतेदेखि सञ्चालन हुने अभियानमा वडा भित्र रहेका ७ वटा विद्यालयमा अध्ययनरत कक्षा ६-१० सम्म अध्ययनरत १० वर्षदेखि १४ वर्ष उमेर समुहका ९ सय ६७ जना र विद्यालय बाहिरका ३ सय ११ जना गरेर कुल १ हजार २७८ जना किशाेरीलाई एचपिभि खाेप लगाउने कार्यक्रम रहेकाे आज (मंगलबार) नगर स्वास्थ्य केन्द्र प्रसेनीमा राखीएकाे तयारी बैठकमा केन्द्र प्रमुख बासुदेब चाैधरीले जानकारी गराउनुभएकाे हाे ।
खाेप अभियान सञ्चालनकाे सम्पुर्ण तयारी समेत पूरा भएकाे उहाँले जानकारी दिनुभयाे । फागुन ६ गतेसम्म सञ्चालन हुने अभियानमा १० जना स्वास्थ्यकर्मी परिचालन गरिएकाे छ । सार्वजनिक बिदाकाे दिन बाहेक अन्य दिनहरूमा खाेप कार्यक्रममा निरन्तर सञ्चालन हुने भएकाे छ ।
नगर स्वास्थ्य केन्द्र प्रमुख बासुदेव चाैधरीकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका-७ का वडा अध्यक्ष रामबहादुर जिसिकाे प्रमुख आतिथ्यतामा सराेकारवालाहरूकाे तयारी बैठक बसेकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथ वडा अध्यक्ष जिसिले व्यक्ति स्वस्थ भएमात्र समाज स्वस्थ रहने हुँदा नगरलाई स्वस्थ राख्न एचपिभि खाेप अभियानलाई सफल बनाउन सराेकारवालहरूलाई निर्देशन दिनुभयाे। कार्यक्रमकाे सहजिकरण केन्द्र प्रमुख चाैधरीले गर्नुभएकाे हाे ।कार्यक्रममा जनप्रतिनिधि,स्वास्थ्यस्वयमसेविका,पत्रकार लगाएतकाे सहभागिता रहेकाे थियाे ।