
दाङ, १८ माघ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले भोली बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मटीतेलमा प्रतिलिटर ४ रुपैँयाले बढाएको हो ।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६६ र तेस्रो वर्गका लागि १ सय ६७ कायम भएको छ ।
डिजेल र मटीतेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ रहेको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर छ रुपैयाँले बढेर प्रति लिटर १३२ पुगेको छ। हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलोमिटर १४३ रूपैयाँका दरले बढाइएको छ। खाना पकाउने एलपिजी ग्यासको मूल्य भने अहिलेलाई यथावत राखिएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।
नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगमको सञ्चालक समितिले भोली बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।