२०८१ चैत्र ३ गते आइतवार

दङ्गिशरणमा सामुदायिक वनमा देखिएका चुनौतिका बिषयमा वृहत छलफल



दाङ,२१ माघ ।
स्थानीय वन महासंघ दंगीशरणको परिषद् भेला दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका-२ कलमखोलामा कृषि वन उद्यममा आधारित रहेको हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्य तथा स्थानीय वन महासंघ दंगीशरण गाउँपालिकाको आयोजनामा आईतबार कार्यक्रम भएको हो ।

स्थानीय वन महासंघ दंगीशरणका अध्यक्ष शोभाकर न्यौपानेको अध्यक्षता एवम् दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्का र प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको विशिष्ट आतिथ्यता सम्पन्न भएको छ।

भेलामा स्थानीय वन ऐन, सामुदायिक वनमा हाल देखिएका समस्या, चुनौती, समुहको कार्ययोजना, विधान, लेखा परिक्षण, लेखा स्थायी नम्बर, कर, कृषि वन उधमको विकास लगायत थुप्रै विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक वन व्यवस्थापनले धेरै फाइदा पुर्‍याएको तर यससँगै केही चुनौतीहरू पनि रहेकाले अवैध कटानी र वन विनाश, काठ तस्करी र अवैध दोहन,वन संरक्षणका लागि प्रभावकारी अनुगमनको अभाव रहेको बताएका थिए । उनिहरुले वन व्यवस्थापन, संरक्षण, र अनुसन्धानका लागि आवश्यक बजेटको कमी, सामुदायिक वनबाट उत्पन्न आम्दानीको उचित सदुपयोग नहुनुले वन क्षेत्रमा चुनौति थपिएको बताए ।उनिहरुले यी चुनौतीहरूको समाधानका लागि प्रभावकारी नीति, समुदायको सक्रिय सहभागिता, आधुनिक प्रविधिको प्रयोग, र समावेशी व्यवस्थापन आवश्यक रहेको बताए ।

दंगीशरणको परिषद् भेलामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघका अध्यक्ष हरि प्रसाद भुसाल, सचिव राधा विष्ट, सदस्यहरु तुल्सीराम कडेल, गोमा बस्नेत, दंगीशरण गाउँपालिका कार्यपालिका सदस्य तथा वन वातावरण विपद् समिति संयोजक मिना चौधरी, दंगीशरण गाउँपालिका-५ का वडा सदस्य भुम प्रसाद देवकोटा, शान्तिनगर गाउँपालिका स्थानीय वन महासंघका अध्यक्ष भिम खत्री, हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्णु गौतम लगायत दंगीशरण गाउँपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागीता रहेको थियोे ।

हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्णु गौतमको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजीकरण चक्रमिलन विश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार