दाङ,२३ माघ ।
तुलसीपुरमा रहेको एनएमबि बैंक शाखा कार्यालयमा चोरी प्रयासमा पक्राउ परेका युवकविरूद्ध चोरी उद्योगमा मुद्दा दर्ता भएकाे छ ।
पक्राउ पर्नेमा तुलसीपुर उप-महानगरपालिका-१८ निवासी सन्तोष चौधरी रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता सुर्य राणाले जानकारी दिनुभयाे।
उहाँका अनुसार गत माघ १३ गते राति साढे १ बजेतिर चौधरीले फलामको छिनो, हथौडा, पिलास, फलाम काट्ने आरीकाे सहायताले बैंकको झ्यालको भेन्टिलेटरको सिसा र ग्रिल फोडी भित्र प्रवेश गरेका थिए।
साेही बैंककाे सेवाग्राहीसमेत रहेका चाैधरीले चोरी गर्न लागेकाे सूचना काठमान्डाैबाट दाङ प्रहरीलाई प्राप्त भएकाे थियाे । साेही सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेर उनलाई बैंकभित्रैबाट पक्राउ गरेको थियाे।
हाल अभियुक्त चौधरीविरुद्ध चोरी उद्योगमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत घोराहीबाट म्याद थप अनुमति लिई उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

