२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुर महोत्सवको उद्घाटन उद्योग मन्त्री दामोदर भण्डारीले गर्ने



दाङ, ३० माघ ।
भोलिदेखि शुरु हुने दोस्रो तुलसीपुर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीका अनुसार महोत्सवका तयारी आजसम्म ९० प्रतिशत सकिएको हो ।

महोत्सवको उद्घाटन भोलि दिउँसो १ बजे हुने भएको छ । महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले गर्नुहुने तय भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार महोत्सव उद्घाटन अघि झाँकी जुलुसले बजार परिक्रम गर्नेछ ।

भोलिदेखि शुरु हुने महोत्सव १६ गतेसम्म संचालन हुनेछ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ दोस्रो तुलसीपुर महोत्सव संचालन हुने भएको हो ।

महोत्सव तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा संचालन हुन लागेको छ । स्थानीय वस्तुको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने छ । यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकियस्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने लोक नृत्य तथा झाँकी, बालउद्यान रहने छ ।

महोत्सवमा प्रवेशका लागि १०० रुपैँयाको टिकट लाग्ने छ भने ७० वर्ष माथिका जेष्ठ नागरिकले निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ । यसैबिच सल्यान महोत्सवका आगलागी पिडित व्यवसायीलाई स्टलमा ५० प्रतिशत छुट दिइने भएको छ ।

संयोजक भण्डारीले आगलागीको घटनाप्रति दुख व्यक्त गर्दै सल्यान महोत्सवका आगलागी पिडित व्यवसायीलाई स्टलमा आधा छुट दिने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार