२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुर खानेपानीको चुनाब चैत २ गते,को-को छन् अध्यक्षका आकांक्षी?



दाङ, ३ फागुन।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनाब आगामी चैत्र २ गते हुने भएको छ। संस्थाले हालसम्म गरेका कार्यको प्रगति विवरण पेश गर्न शुक्रबार दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यमकान्त भण्डारीले आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचनको मिति घोषणा गर्नुभएको हो।

संस्थाको आगामी नेतृत्वलाई मतदान गर्नका लागि उपभोक्ताले कम्तिमा गएको मंसिरसम्मको खानेपानी महशुल फागुन १५ भित्र बुझाइसक्नुपर्ने कोषाध्यक्ष भोला थापाले बताउनुभयो। महशुल समयमै नबुझाउने मतदाताले निर्वाचनमा मतदान गर्न नपाउने उहाँले बताउनुभयो।

तुलसीपुरमा खानेपानीको वितरणलाई सहज बनाउनका लागि सञ्चालनमा आउन लागेको बबई लिफ्टीङको काम अहिलेसम्म करिब ७० प्रतिशत पूरा भएको अध्यक्ष भण्डारीले बताउनुभयो। आगामी वर्ष २०८२ असार मसान्तभित्र सक्ने गरी सहलगानी आयोजनाको काम तीव्र पारिएको जानकारी गराइएको छ।

सहलगानी आयोजना अन्तर्गत बबई लिफ्टीङको काम अहिलेसम्म विशेषगरी मुख्य पाइपलाइन विस्तारको काम, वितरण पाइपलाइन विस्तारको काम, आकाशे ट्यांकी निर्माणको काम सकिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले सहलगानी आयोजनाको काम सम्पन्न भएमा दैनिक थप ७१ लाख लिटर पानी वितरण गर्न सकिने बताउनुभयो। तुलसीपुर खानेपानीले अहिले ११ हजार धारामा पानी वितरण गरिरहेको छ।

अध्यक्षमा वर्तमान चार पदाधिकारीकै आकांक्षा

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी नेतृत्वका लागि आउँदो चैत २ गते हुने निर्वाचनमा वर्तमान चार जना पदाधिकारीको आकांक्षा देखिएको छ।

वर्तमान अध्यक्ष यमकान्त भण्डारी दाेस्राे कार्यकालका लागि अध्यक्षमा दोहोरिन इच्छा जाहेर गर्नुभएको छ।

पत्रकार सम्मेलनमा “तपाईं फेरी अध्यक्षमा दोहोरिन चाहेको हो?” भन्ने पत्रकारको प्रश्नमा आफ्नो चाहना सर्वसम्मत होस् भन्ने रहे पनि त्यस्तो अवस्था नदेखेकाले आफ्नो पार्टी नेपाली कांग्रेसले फेरि पनि अघि सारे आफु तयारी अवस्थामा रहेको बताउनुभयो।

यस्तै वर्तमान उपाध्यक्ष सिताराम शर्माले अबको अध्यक्ष बन्ने पालो आफ्नै रहेको बताउनुभयो।

“उपाध्यक्ष पदभन्दा पछाडिका पदमा फर्कने कुरा भएन,” उहाँले भन्नुभयो- “उपाध्यक्ष पदपछि दाबी भनेकै अध्यक्षका लागि हो। म पनि यसपाली अध्यक्षमा लड्ने चाहना राखेको छु।”

आफ्नो दल नेकपा माओवादी केन्द्रले अध्यक्षमा अघि बढाउन निर्णय गरेर चुनावमा होमिन निर्देशन दिए चुनावी मैदानमा जाने मनस्थिति स्पष्ट रहेको बताउनुभयो।

वर्तमान सचिव सेवकराम भण्डारी पनि नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेको चर्चा छ। आजको पत्रकार सम्मेलनमा सचिव भण्डारी उपस्थिति नरहे पनि कुराकानीका क्रममा आफू अध्यक्ष पदका लागि योग्य उम्मेदवार रहेको बताउनुभयो।

“अध्यक्ष पदको आकांक्षी भएकाले म तयारी अवस्थामा छु। अहिले नै यसै भनिहाल्ने अवस्था छैन, परिस्थिति अनुसार अघि बढ्ने योजनामा छु।” उहाँले भन्नुभयो।

वर्तमान कोषाध्यक्ष भोला थापा पनि यसपालीको चुनावमा फड्को मार्ने दाउमा हुनुहुन्छ। गत चुनावमा पार्टी भित्र अन्तरसंघर्षका बाबजुद नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएर लोकप्रिय मतका साथ कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएकाे थियाे । थापा यसपालीको चुनावमा पनि त्यो साख जोगाउने योजनामा देखिनुहुन्छ।

उहाँले भन्नुभयाे-“पार्टीले विगतमा भएको चुनावको परिणामलाई सिकाइका रूपमा लिएर यसपालाको चुनावमा न्यायोचित निर्णय गर्नेमा विश्वस्त छु।”

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार