२०८१ चैत्र ३ गते आइतवार

जुरपनिया मैनातारा खानेपानीको नवौँ साधारणसभा: १५ हजार उपभोक्तासम्म सेवा विस्तार गर्ने लक्ष्य



दाङ, ३ फागुन ।

समाजमा परम्परागत कुवा,इनार,खोला र पोखरीको पानी पिउने चलनलाई निरुत्साहित गर्न तथा स्वच्छ र सफा पानी उपभोक्तलाई सर्वसुलभ शुल्कमा उपलब्ध गराउने उदेश्यले ९ वर्ष अघि स्थापना भएकाे जुरपनिया मैनातारा खानेपानीले आफ्नाे सेवा विस्तारकाे कामलाई तिव्रता दिएकाे संस्थाका अध्यक्ष रामकुमार डाँगीले जानकारी दिनुभयाे।

तुलसीपुर-१८  दुधरासमा मूख्य कार्यालय रहेको खानेपानी  संस्थाले वडा नम्बर १७,१८ र १९ का बासिन्दालाई सार्वजनिक,संस्थागत,र निजि गरि ८५० धाराबाट खानेपानीकाे सेवा प्रबाह गर्दै आएकाे संस्थाका सचिव दामाेदर बस्नेत ´राकेश`ले बताउनुभयाे। आगामी दिनमा १६०० घरधुरीमा १५ हजार उपभोक्ताको पहुँचसम्म धारा विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो

 खानेपानीको माग धेरै रहेपनि मूलहरू दिनप्रतिदिन सुक्दै जाँदा उपभोक्ताको मागअनुसार पर्याप्त पानी उपलब्ध गराउन नसकिएको सचिव बस्नेतले बताउनुभयो।

तुलसीपुर-१८  दुधरासमा रहेको जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले शनिबार नवौँ साधारणसभा गरेको छ । संस्थाका अध्यक्ष राम कुमार डाँगीको अध्यक्षता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम गरिएको हो ।

साधारण सभामा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानले आगामी दिनमा पानीको संकट आउन नदिनका लागि मुहान संरक्षणमा गर्नुपर्ने बताउनुभयो । स्रोतको संरक्षण गर्न नगर्ने हो भने पानीको संकट आउने उहाँको भनाई छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष माधव वलीले खानेपानीको दीर्घकालिन समाधानका लागि जलाशय संरक्षणमा स्थानीय सरकारल लागि परेको बताउनुभयो ।

उहाँले पछिल्लो समय जनसंख्या बढ्दै गएको र पानीका स्रोतहरु सुक्दै गएको अवस्थामा जलाशय निर्माणले सहजता भएको बताउनुभयो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले नागरिकले खानेपानी निशुल्क पाउनुपर्ने बताउनुभयो ।

बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदिप गौतमले उपभोक्तालाई पानी पुर्‍याउन निरन्तर लामो समयदेखि लागिरहेको बताउनुभयो । साधारणसभामा संस्थाका सल्लाहकार हिमबहादुर डाँगी, शेर बहादुर खड्का, लोकबहादुर बहकरी, युवराज खड्का बन महासंघका जिल्ला उपाध्यक्ष चन्द्र बहादुर वली, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीका सचिव मुकेश वली लगायतले पानीका मुहानहरु सुक्न थालेकाले वैकल्पिक स्रोतको खोजी गर्नुपर्नेमा जोड दिएका छन् ।

संस्थाका उपाध्यक्ष शेषमणी कुँवरको स्वागत मन्तव्यबाट शुरु भएको साधारण सभामा सचिव दामोदर बस्नेत ‘राकेश’ले प्रगति विवरण पेश गर्नुभएको थियो भने कोषाध्यक्ष यम केसीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो । साधारणसभामा खानेपानीको महशुल नियमित बुझाउने ६ जनालाई सम्मान पनि गरिएको छ । कार्यक्रमको सहजीकरण सचिव दामोदर बस्नेत ‘राकेश’ले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार