दाङ, ७ फागुन ।
डिभाइन टेम्पल एकेडेमी तुलसीपुरले १६ औँ वार्षिकोत्सव मनाएको छ ।
तुलसीपुर-६ गोलौरामा रहेको विद्यालयले बुधबार विविध कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न गरेको छ ।
डिभाइन एजुकेशनका संस्थापक भोजराज न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले कक्षा १२ पास गरेर उच्च शिक्षाका लागि विदेश जाने लहर बढेकाले यस्तो प्रवृत्तिको अन्त्यका लागि डिभाइनले महत्त्वपूर्ण भूमिका निभाउनुपर्ने बताउनुभयो ।
उहाँले विदेश जाने प्रवृत्तिले स्वदेशमा दक्ष जनशक्तिको अभाव हुन थालेकाले देश सुहाउँदो शिक्षा र सूचना प्रविधिमा आधारित भएर अध्यापन गर्न विद्यालय परिवारलाई सुझावसमेत दिनुभयो ।
उहाँले नेपालमै स्वरोजगार बनेर पनि छोराछोरी पढाइरहेका अभिभावकहरूलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।यस्तै तुलसीपुर-६ का अध्यक्ष वर्षात भण्डारीले स्वदेशमै श्रम गर्ने शिक्षा बालबालिकालाई प्रदान गर्नुपर्नुपर्ने बताउनुभयो । विदेशीले बनाएका सामाजिक सञ्जाल चलाएर देशमा केही छैन भन्नु भन्दा समाज परिवर्तनका लागि सबैभन्दा पहिला आफू तयार रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिए । यस्तै विद्यार्थीले मोबाइलबाट चल्ने कारको डेमो समेत प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सव समारोहमा चर्चित गायिका राधिका हमालले विभिन्न सांगीतिक प्रस्तुति दिँदा अभिभावक, विद्यार्थी उत्साहित भएर रमाएका थिए । गायिका हमालले ‘क्याम्पस पढ्न आउने’ चम्चा प्लेट जस्ता गीत प्रस्तुत गर्नुभएको हो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक आकाश सिंहले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गरेको प्रतिवेदन पेश गर्नुभएको थियो ।
पढाइका अलावा खेलकुद प्रतियोगिता शारीरिक क्षमताको विकासमात्र नभई समूहमा काम गर्ने, प्रतिस्पर्धामा भाग लिने, विद्यार्थीको रचनात्मक र बौद्धिक क्षमताको विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलापमा विशेष जोड दिएको उहाँले बताउनुभयो ।
वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । उत्कृष्ट शिक्षक भुमा भण्डारी बस्नेत, उत्कृष्ट विद्यार्थी कक्षा १२ का पारस वली र उत्कृष्ट छात्रा कृतिका बुढाथोकीलाई सम्मानित गरिएको हो ।यस्तै उदयमान प्रतिभा पुरस्कारबाट कक्षा १० का कमल चौधरी, छात्रा अञ्जली डाँगी र उत्कृष्ट खेलाडी आशिष डढेल सम्मानित भएका हुन् ।
विद्यालयका लोक तथा संस्कृत शिक्षक माधवा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक महेश लामिछानेले गर्नुभएको हो ।

