दाङ,१४ फाल्गुण। तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेले सहकारीलाई जनताको आर्थिक समृद्धिको आधार बनाउन सहकारी शिक्षा र व्यवस्थापनका लागि सहकारी विश्वविद्यालय स्थापना आवश्यक रहेको बताउनुभयाे ।
विगतमा पनि सहकारी क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसंग सहकारी शिक्षाको आवश्यकता औंल्याउँदै आएका उहाँ हाल सहकारी विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । साेही क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
सहकारी प्रणालीलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र वैज्ञानिक व्यवस्थापनको आवश्यकता रहेकाेमा जाेड दिनुभयाे । पान्डेले भन्नुभयाे-“सहकारी संस्थाहरूले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्, तर प्रभावकारी सञ्चालन र वित्तीय अनुशासनका लागि शिक्षित तथा प्रशिक्षित जनशक्ति अपरिहार्य छ,” ।
नेपालमा सहकारी क्षेत्र तीव्र रूपमा विकास भए पनि शिक्षाको अभावमा यसको प्रभावकारिता कम भएको उहाँको धारणा छ। सहकारी विश्वविद्यालय स्थापना भए सहकारी क्षेत्रमा अनुसन्धान,नवीनतम प्रविधिकाे प्रयोग र पारदर्शिता सुनिश्चित गर्न मद्दत पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।
यस विषयमा सरकार र सम्बन्धित निकायहरूले आवश्यक पहल गर्नुपर्ने माग गर्दै पाण्डेले सहकारी क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र दिगो बनाउन विश्वविद्यालय स्थापना तत्काल आवश्यक रहेको बताउनुभएकाे हाे ।

