
दाङ, १६ फाल्गुण । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा २५ करोड ८२ लाख ८१ हजार बढी अर्थात २२ दशमलव २ प्रतिशतले राजस्व संकलन वृद्धि गरेको हो।
चालु वर्षको माघ मसान्तसम्म लक्ष्यको ८२ दशमलव ५० प्रतिशत राजस्व संकलन गरिएको आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कार्यालय प्रमुख श्रीधर टण्डनले जानकारी दिनुभयो।
कार्यालयले चालु आर्थिक वर्षमा १ अर्ब ७२ करोड ८७ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। तर करदाता सेवाग्राहीले समयमै आय विवरण पेश र कर दाखिला नगर्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको प्रमुख टण्डनले जानकारी दिनुभयो। उहाँका अनुसार चालू वर्षको ७ महिनाको अवधिमा ३० करोड १४ लाख १८ हजारले लक्ष्य भन्दा कम राजस्व संकलन भएको हो।
कार्यालय प्रमुख टण्डनका अनुसार स्थायी लेखा नम्बर प्रमाणपत्र (PAN) मा दर्ता भएका ४२ हजार ३०२ र मूल्य वृद्धि कर (VAT) मा दर्ता भएका ५ हजार १७४ गरि जम्मा ४७ हजार ४७६ करदाता सेवाग्राही रहेका छन्।
दर्ता भएका आधाभन्दा धेरै अर्थात २२ हजार ८३० करदाता सेवाग्राहीहरूले समयमै आय विवरण पेश तथा कर दाखिला नगरेका कारण लक्ष्यअनुसारको रकम संकलन हुन नसकेको प्रमुख टण्डनले जानकारी दिनुभयो। जसमध्ये स्थायी लेखा प्रमाणपत्र (PAN) प्राप्त २१ हजार ३३४ र मूल्यअभिवृद्धि (VAT) मा दर्ता भएका १ हजार ४९६ करदाता रहेका छन्।
स्थायी लेखा प्रमाणपत्र लिएका तर समयमै आय विवरण पेश तथा आयकर दाखिला नगर्ने करदाताहरूको सङ्ख्या घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै ७ हजार ३२५ रहेको छ।
तुलसीपुर उपमहानगरपालिकामा ६ हजार ४९२, लमही नगरपालिकामा २ हजार ९, राजपुर र राप्ती गाउँपालिकामा समान १ हजार १३९ रहेको छ। यस्तै गढवा गाउँपालिकामा १ हजार १३५, शान्तिनगर गाउँपालिकामा ५५६, दङ्गीशरण गाउँपालिकामा ३७३, बङ्गलाचुली गाउँपालिकामा २५१ र सबै भन्दा थोरै बबई गाउँपालिकामा १७ रहेको छ। यस्तै रोल्पाको रुन्टिगढी, त्रिवेणी र गंगादेव गाउँपालिकामा गरी ८९८ रहेको छ।
मूल्य अभिवृद्धि करमा दर्ता भएका तर समयमै आय विवरण पेश नगर्ने र आयकर नबुझाउने करदाताको सङ्ख्या पनि सबैभन्दा धेरै ६३५ घोराही उपमहानगरपालिकामा रहेको छ।
यस्तै तुलसीपुर उपमहानगरपालिकामा ४२७, लमही नगरपालिकामा २०१, गढवा गाउँपालिकामा ६९, राप्ती गाउँपालिकामा ५४, शान्तिनगर गाउँपालिकामा २५, बङ्गलाचुली गाउँपालिकामा २४, राजपुर गाउँपालिकामा १७, बबई गाउँपालिकामा १६ र दङ्गीशरण गाउँपालिकामा ६ रहेको छ भने रोल्पाको रुन्टिगढी, त्रिवेणी र गंगादेव गाउँपालिकामा २२ रहेको छ।
यसैबीच कार्यालयले फागुन मसान्तसम्म आयकर तथा मूल्य अभिवृद्धि करको आय विवरण पेश तथा करदाखिला गर्ने करदाता सेवाग्राहीलाई छुट गरिएको जनाएको छ।
कुनै व्यक्तिले विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्ता व्यक्तिले लेखा नम्बर लिई आर्थिक वर्ष २०७८/७९ र ०७९/८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर फाल्गुण मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाह हुने व्यवस्था गरिएको छ। छुटेका करदाता सेवाग्राहीलाई फाल्गुण मसान्त भित्र आय विवरण पेश गर्न र कर बुझाएर जरिवानाबाट बच्न कार्यालय प्रमुख श्रीधर टण्डनले आग्रह गर्नुभएको छ।
यस्तै स्थायी लेखा नम्बर लिएर आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम फाल्गुण मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा गरिने व्यवस्था रहेको प्रमुख टण्डनले जानकारी दिनुभयो।
यस्तै २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगरेका मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम फाल्गुण मसान्त भित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याजसमेत मिनाहको व्यवस्था गरिएको छ। सुविधाको उपभोग गर्न सबै सेवाग्राहीहरूलाई उहाँले अनुरोध गर्नुभएको छ।
आन्तरिक राजस्व कार्यालय दाङको कार्यक्षेत्र दाङसहित रोल्पा, रुकुम पूर्वी भाग, रुकुम पश्चिम, सल्यान र प्युठान जिल्ला रहेको छ। सल्यानमा रहेको करदाता सेवा कार्यालयले सल्यान सहित रुकुम पूर्वी भाग र रुकुम पश्चिममा सेवा प्रदान गर्दै आएको छ। त्यस्तै चकचकेमा रहेको करदाता सेवा कार्यालयले प्युठान जिल्लामा सेवा प्रवाह गरिरहेको छ।
तुलसीपुर कार्यालयमार्फत दाङका १० स्थानीय तह र रोल्पाका तीन स्थानीय तहमा सेवा प्रवाह गर्दै आएको छ।