
दाङ, १९ फागुन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्न तयार रहेको बताउनुभएको छ । राप्ती लाइफ केयर अस्पताल तुलसीपुरको १८ औं वार्षिकोत्सव तथा अस्पताल भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो ।
उहाँले निजी क्षेत्रमा काम गर्न लगानीकर्ताहरू उत्साहित भए प्रोत्साहनका लागि उचित वातावरण तयार गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । राज्यले निजी क्षेत्रलाई निरुत्साहीत बनाउने नीति अवलम्बन गरेको भन्ने लगानीकर्ताहरूको गुनासोलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उहाँको भनाई छ ।
स्वास्थ्य क्षेत्र व्यक्तिको जीवनसँग जोडिएको संवेदनशील विषय भएकाले राज्यले अवलम्बन गरेका नीति, नियम र मापदण्ड पूर्णरूपले पालन गर्न निर्देशन दिनुभयको छ । अस्पतालका कार्यकारी अध्यक्ष हरिप्रसाद रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा अस्पतालको एकसय सैया भवनको समेत उद्घाटन गरीएको छ ।
संस्थाका कार्यकारी अध्यक्ष रिजालले ग्रामीण क्षेत्रमा भरपर्दो र विश्वसनीय स्वास्थ्य सेवा राज्यपक्षले सञ्चालन गर्न नसकेको अवस्थामा निजी क्षेत्रबाट आफूहरूले १७ वर्षअघि सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । डाक्टरहरू काठमाडौँ छोडेर दाङमा आउन नमान्ने र सिटामोल, सलानीपानी जस्ता सामान्य औषधि समेत जनताले सहजै पाउन नसकिरहेको अवस्थामा राप्ती लाइफ केयर अस्पतालको परिकल्पना गरिएको प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यकारी अध्यक्ष रिजालले अहिलेसम्म अस्पतालमा २७ करोड लगानी भएको बताउनुभयो । त्यसबाट २०९ जना प्रत्यक्ष रोजगारीमा जोडिएका छन् । ५५ सैयाको अनुमति लिएर सञ्चालन रहेको अस्पतालले २०७८ सालदेखि एकसय सैया अस्पतालको अनुमति पाइसकेको छ ।
सिटीभिटबाट सम्बन्धन लिई शैक्षिक कार्यक्रम अन्तर्गत प्रविणता प्रमाणपत्र तह नर्सिङ र सामान्य चिकित्सा (एचए) सञ्चालन गरिरहेको छ । यस्तै आगामी शैक्षिक सत्रदेखि थप दुईवटा नयाँ कार्यक्रम फार्मेसी र ल्याब टेक्निसियनको मनासय पत्र स्वीकृत भइसकेकाले सञ्चालनको तयारीमा रहेको रिजालले जानकारी दिनुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खड्का, दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, सिटिइभिटीका लुम्बिनी प्रदेश प्रमुख यादव सुवेदी, खेलकुद परिषदका लुम्बिनी प्रदेश अध्यक्ष तिरण गौतम, तुलसीपुर–६ का वडा अध्यक्ष दुजमान भण्डारी (वर्षात), नेकपा माओवादीका केन्द्रिय सल्लाहकार सदस्य शेषुराम भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेपाली काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नयाँशक्तीका मोति रिजाल, निजी हस्पिटल एशोसियसन दाङका अध्यक्ष बालाराम शर्मा लगायत निजि क्षेत्रबाट २७ करोड बढिको लगानीबाट सञ्चालित अस्पतालले उपलव्ध गराएको सेवाको प्रशंसा गरेका थिए ।
अस्पताल सञ्चालक समितिका सदस्य दोर्ण वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अस्पतालका निर्देशक जीवन भण्डारीले गर्नुभएको हो । वार्षिकोत्सवका अवसरमा नर्सिङ कलेजमा अध्यनरत छात्रछात्राहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए ।