
तुलसीपुर,१९ फाल्गुण ।कोरियन भाषाको उत्पादनशील क्षेत्रमा उत्तीर्ण हुने विद्यार्थीहरूलाई आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ।
विगत लामो समयदेखि कोरियन भाषाको प्रशिक्षण गराउँदै आएको तुलसीपुर स्थित गोल्डेन फ्युचर कोरियन ल्याङ्ग्वेज इन्स्टिच्युटले उत्पादनशील क्षेत्रको तेस्रो चरणमा सीप परिक्षणसहित उतिर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरेको हो।इन्स्टिच्युटमा याे वर्ष तीन सिफ्टमा ३०० प्रशिक्षार्थीहरू सहभागी रहेका थिए जसमध्ये २७० जना उत्पादनशील क्षेत्रमा उत्तीर्ण भएको भाषा प्रशिक्षक ओलीले जानकारी दिनुभयो । तेस्रो चरणमा उतिर्ण भएका ३३ जना विद्यार्थीलाई आज सम्मान गरिएकाे हाे।
विश्व भाषा क्याम्पसबाट छैठो लेभलको प्रमाणपत्र प्राप्त काेरीयन भाषा प्रशिक्षक मोतिराम ओली(अनिल)को अध्यक्षता तथा सञ्चालक मनुजा शर्मा वलीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
यस अघिका नतिजामा पनि देशकै सर्वोत्कृष्ट नतिजा ल्याएको भाषा प्रशिक्षक ओलीले दाबी गर्नुभयो।
सो अवसरमा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले देश बनाउन हिँडेका युवाहरू विदेशमै नहराउन सुझाव दिनुभयो । विदेशमा सिप सिकेर स्वदेशमै आत्मनिर्भर बन्नका लागि सबैलाई प्रेरित गर्न समेत पाैडेलले आग्रह गर्नुभयो।
कार्यक्रममा प्रशिक्षार्थी जगत केसी,भाषा प्रशिक्षक तथा पूर्व विद्यार्थी विष्णु बस्नेत लगायतले स्वदेशको ज्ञान र विदेशको सीपलाई समिश्रण गरेर भविष्यमा स्वदेशमै लगानीको वातावरण तयार गर्नका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका थिए।
विद्यार्थी निर्मल ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी कृष्ण कार्कीले गर्नुभएको हो। कार्यक्रममा विद्यार्थीहरूले गीत,नृत्य,गजल लगायतका विभिन्न प्रस्तुतिहरू राखेका थिए।