
दाङ, २२ फाल्गुण । क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङले विद्युत महसुल नबुझाएका दाङका सिमेन्ट उद्योगहरूको विद्युत बक्यौता महसुल तत्काल असुल गर्न सरकारसँग माग गरेको छ।
जिल्लामा रहेका सोनापुर सिमेन्ट उद्योग दुधरासले ६२ करोड २५ लाख रुपैयाँ, सम्राट सिमेन्ट उद्योग लमहीले ३७ करोड ८४ लाख रुपैयाँ, र घोराही सिमेन्ट उद्योग गोग्लीले १ अर्ब ४८ करोड रुपैयाँ विद्युतको बक्यौता महसुल नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी दिपले जारी गरेको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
जनताको घरमा वालिने बत्तीको बिल नबुझाएमा ६० दिनभित्र विद्युत लाइन काटिने व्यवस्था छ। तर, उद्योगहरूको अर्बौंको बिल नउठ्दा पनि बक्यौता उठाउनेतर्फ राज्यको ध्यान नपुग्नु र काटिएको लाइन पुनः जडान गर्ने निर्देशन दिनु लज्जास्पद कुरा हो भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ।
पार्टीले सिमेन्ट उद्योगको विद्युत बक्यौता तत्काल असुल गर्न सरकारलाई आग्रह गरेको छ। तर, मागलाई बेवास्ता गरिएमा जनसंघर्षमा जान बाध्य हुने चेतावनी समेत दिएको छ।