
दाङ, २२ फागुन ।दाङमा चोरीको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका-१ हर्नोकका अन्दाजी २४ वर्षका विज्ञान घर्ती (प्रदिप), चोरीको सामान बेच्न घोराही उप-महानगरपालिका-१५ काठेकोलका ३२ वर्षका विक्रम चौधरी,उहाँको श्रीमति २५ वर्षका प्रतिक्षा केसी र चोरीको सामान किन्ने घोराही उप-महानगरपालिका- १५ भिमसेन टोल बस्ने ४१ वर्षको सदन सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
फागुन १५ गते विहान १० बजेतिर घर्तीले गिता पुन (वली)को घरमा चोरी गरेको भन्ने निवेदनको आधारमा खोजतलास गर्दै जादा हिजो बुधबार घोराही उप-महानगरपालिका- १७ सिस्नेखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिनुभएको छ ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट नगद सहित विभिन्न सामान बरामद गरीएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विक्रम चौधरीको घरको कोठाबाट दुई लाख २२ हजार ६६५ रुपैँया नगद र सुन जस्तो देखिने पहेलो धातुवाट बनेको माला जोडेकोे माईली तिलहरी एक थान बरामद गरीएको छ ।
यस्तै पक्राउ परेका सदन सुनारको घरको कोठाबाट स्वरुप परिवर्तन गरीसकेको अवस्थाको सुनको टप एक जोर,सुनको औँठी एक थान र सुनको माईली तिलहरी एक थान बरामद गरेको प्रहरी प्रवक्ता शाहले जानकारी दिनुभयो ।