२०८२ बैशाख ८ गते सोमवार

दाङमा लागू औषधसहित तीन जना पक्राउ



दाङ, २६ फागुन ।दाङमा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम (पूर्वी भाग) भुमे गाउँपालिका वडा नम्बर २ खवाङ बस्ने ४४ वर्षका फर्क बहादुर घर्ती, सोही ठाउँका अन्दाजी ५३ वर्षका रूपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ परेका फर्क बहादुर घर्तीको साथबाट १५ किलो १२३ ग्राम लागू औषध चरेश जस्तो देखिने पदार्थ, रूपधनको साथबाट १४ किलो ५७ ग्राम लागू औषध जस्तो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिनुभएको छ।

आज घोराहि उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहस्थित घोराही होलेरी सडक खण्डमा लागु औषध चरेसको कारोबारका लागि ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागू औषध ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक कविराज रोकायको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा उनिहरुलाइ पक्राउ गरेको सूचना अधिकारी शाहले बताउनुभयो।

प्रहरीले उनीहरूको साथबाट २९ किलो ६९५ ग्राम लागू औषध चरेश बरामद गरेको छ । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार