२०८२ असार ३ गते बुधवार

राप्ती बबई क्याम्पसकाे स्ववियू सभापतिमा प्रमोद भण्डारी निर्वाचित 



तुलसीपुर, ६ चैत । तुलसीपुरको राप्ती बबई क्याम्पसमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका प्रमोद भण्डारी स्ववियू सभापतिमा निर्वाचित हुनुभएको छ । एउटा सदस्यबाहेक सबै पदमा नेविसंका उम्मेदवार निर्वाचित भएका छन् । आज दिउँसो  सकिएको अन्तिम मत परिणाम अनुसार नेविसंघका भण्डारीले ७३७ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिष्पर्धि संयुक्त विद्यार्थी प्यानलका लेखमणी खत्री(लक्ष्मण) ले ३८९ मत प्राप्त गर्नुभएको छ । भण्डारी र खत्रीबिचको मतान्तर ३४८ रहेको छ । अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका कृष्ण केसी(डेभिड खत्री) ले २९ र स्वतन्त्रकै कोमल बहादुर ओली(केवि) ले १३७ मत ल्याउनुभएको छ ।

यस्तै सचिव पदमा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघका उम्मेदवार टोपबहादुर ओली निर्वाचित हुनुभएको छ । ओली संयुक्त विद्यार्थी प्यानलका सोनिया थापालाई ४७ मतले पछि पादै निर्वाचित हुनुभएको हो । ओलीले ६१२  मत ल्याउनु भएको छ भने उहाँको प्रतिस्पर्धि थापाले ५६५, स्वतन्त्रका अंकिता डाँगीले ५७ मत ल्याउनुभएको छ ।

कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार शिक्षा नेपाली निर्वाचित हुनुभएको छ ।  उहाँले संयुक्त विद्यार्थी प्यानलका तिलकराज डाँगीलाई ११५ मतले पछी पादै निर्वाचित हुनुभएको हो । नेपाली ५६२ मत ल्याएर निर्वाचित  हुनुभएको छ । उहाँका प्रतिस्पधि डाँगीले ४४७ मत ल्याउनुभएको छ । स्वतन्त्रका आसिक मियाँले ९५ मत मात्रै ल्याउनुभएको छ ।

सदस्यहरुमा नेविसंघका मनिषा चौधरीले ७६२, रुपेश चौधरीले ७५४, याम कुमारी भण्डारीले ७४६, सञ्जिव चौधरीले ७१४ मत ल्याएर विनर्वाचित हुनुभएको छ । यस्तै विसंघ कै ममता ओलीले ७३९, करुण नेपालीले ७१५, लक्ष्मण ओलीले ८२५ र संयुक्त विद्यार्थी प्यानलका दिलिप शर्मा (दिपक) ले ५५३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

जिल्लाको दोस्रो ठूलो क्याम्पस तुलसीपुरको राप्ती बबइ क्याम्पसमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भएको थियो । निर्वाचन समितिका सूचना अधिकारी तथा प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्यनरत ३ हजार ४१४ विद्यार्थी मध्य जम्मा १ हजार ४१७ जनाले मात्रै मतदान गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार