२०८२ बैशाख ८ गते सोमवार

हाम्रो राजाकोट सहकारीका सदस्यलाई वित्तीय साक्षरता तालिम



दाङ, १२ चैत। दंगीशरण गाउँपालिकामा सहकारी शिक्षा र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर २ कलमखोलामा रहेको हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत शेयर सदस्य तथा गैरसदस्यहरूका लागि सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो। संस्थाका उपाध्यक्ष चक्रमिलन विश्वकर्माले जानकारी दिनुभयो।

संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षता तथा दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको प्रमुख आतिथ्यतामा सहकारी शिक्षा कार्यक्रमको उद्घाटन गरिएको हो।

सहकारी संस्थाको बारेमा ज्ञान वृद्धि गर्दै वित्तीय साक्षरतामा सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको तालिमले सदस्यहरूको आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा दंगीशरण गाउँपालिका– १ का वडा अध्यक्ष रमेश भण्डारी, दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष र सहकारीका कानूनी सल्लाहकार भागिराम चौधरी, वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष श्रीप्रसाद चौधरी, कार्यपालिका सदस्य मिना चौधरी, महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेर बहादुर डाँगी लगायतका प्रतिनिधिहरूले सहकारीको सवलीकरणका लागि वित्तीय साक्षरता तालिम आवश्यक रहेको बताएका थिए।

तालीमका प्रशिक्षार्थीहरूलाई दंगीशरण गाउँपालिका सहकारी इकाई प्रमुख यादव बहादुर डाँगी र कृषि विकास शाखामा कार्यरत मान बहादुर डाँगीले प्रशिक्षण दिनुभएको थियो ।

उद्यमी शेयर सदस्य संगिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष चक्रमिलन विश्वकर्माले गर्नुभएको हो।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार