२०८२ जेष्ठ १० गते शनिवार

स्थापना दिवसको कार्यक्रम बहिष्कार : अधिकांश कुर्सी खाली



दाङ, ३१ चैत । तुलसीपुर उपमहानगरपालिकाको शनिबार भएको ३३ औँ स्थापना दिवस कार्यक्रम नेपाली कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

नगरप्रमुख टिकाराम खड्काको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै कांग्रेस र माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यले शनिबारको ३३ औँ स्थापना दिवस कार्यक्रम बहिष्कार गरेका हुन् । कार्यक्रममा एमालेबाट निर्वाचित वडाअध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिति पनि निकै कम रहेको थियो ।

दर्शक दिर्घामा राखिएका अधिकांश कुर्सी खाली रहेका थिए । उपमहानगरपालिकाको प्रांगनमै राखिएको स्थापना दिवस कार्यक्रममा सेवाग्राही नागरिकको उपस्थिति समेत थिएन । स्टेजमा पनि नगरप्रमुख टिकाराम खड्का, प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दिपक गिरी लगायत केहि नेता र कर्मचारी मात्रै थिए ।

नगरप्रमुख खड्का एकलौटी ढंगले अघि बढ्न खोजेको कांग्रेस र माओवादीबाट निर्वाचित मात्र होइन्, एमालेबाटै निर्वाचित जनप्रतिनिधिले पनि बताउछन् । तर पछिल्लो पटक शनिबार (आज चैत ३० गते) विवाद सतहमै देखिएको हो ।

स्रोतका अनुसार शनिबारको ३३ औँ स्थापना दिवसमा लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यलाई प्रमुख अतिथि बनाउने तयारी थियो । तर कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गर्ने चेतावनी दिएपछि कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक गिरीलाई प्रमुख अतिथि बनाइएको थियो ।

गिरीलाई प्रमुख अतिथि बनाएपछि कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सदस्य आउने नगरप्रमुखको आँकलन थियो । कांगे्रसबाट निर्वाचित जनप्रतिनिधिले समर्थन जनाएपछि माओवादीबाट निर्वाचित जनप्रतिनिधि पनि स्वत : समर्थनमै आउने विश्वास नगरप्रमुख खड्कालाई थियो । तर शनिबारको स्थापना दिवस कार्यक्रममा कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधि आएनन् ।

एमालेबाट निर्वाचित केहि जनप्रतिनिधिले पनि विभिन्न बहाना बनाएर कार्यक्रममा सहभागी भएनन् । कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधि झन् कोहि पनि सहभागी भएनन् । मेयर खड्काले कार्यशैली सुधार नगर्दासम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने कांग्रेसबाट निर्वाचित तुलसीपुर-९ का वडा अध्यक्ष तथा लेखा समितिका संयोजक घनश्याम ढकालले बताउनुभयो ।

‘नगरप्रमुख टिकाराम खड्का एकलौटी ढंगले अघि बढ्न खोज्नुभएको छ, त्यो हाम्रा लागि कुनै पनि हालतमा मान्य छैन् ।’ उहाँले भन्नुभयो-‘मेयरले कार्यशैली सुधार नगर्दासम्म कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनौँ ।’

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि नगरप्रमुखको कार्यशैलीप्रति लामो समयदेखि असन्तुष्ट छन् । स्थानीय सरकारमा प्रतिपक्षि नहुने भएपनि नगरप्रमुख खड्काले प्रतिपक्षिको व्यवहार गरेको उनिहरुको आरोप छ ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु यसअघि पनि गत फागुन ३० गतेको १६ औँ नगरसभा बहिष्कार गर्ने योजनामा थिए । तर नगरप्रमुखले त्यसबेलामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले राखेका माग सम्बोधन गर्ने सहमति गरेपछि नगरसभा संचालन भएको थियो ।

१६ औँ नगरसभाबाट असुन्तष्ट भएका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको आक्रोश गत २२ चैतको ३१ औँ कार्यपालिका बैठकमा पनि छरप्रष्ट देखियो । कार्यपालिका बैठकमा कुर्सीले हानाहानको स्थिति समेत भएको थियो । कार्यपालिका बैठकबाट विवाद हुनुको प्रमुख कारण शिक्षक सरुवा हो ।

नगरप्रमुख खड्काले सम्बन्धित वडाअध्यक्षलाई नै जानकारी नदिएर शिक्षक सरुवा गर्न खोजेपछि विवाद छताछुल्लको स्थितिमा पुगेको हो । माओवादीबाट निर्वाचित तुलसीपुर-१६ का अध्यक्ष शिवानन्द डिसीले  नगरप्रमुख शिक्षालाई अस्तव्यस्त बनाउने गरी एकलौटी ढंगले सरुवा गर्न खोजेको बताउनुभयो ।

‘तुलसीपुरमा शिक्षास्तर खस्किन थालेको प्रमाण पछिल्लो नगरस्तरिय नतिजा छ, यस्तो अवस्थामा पनि अस्तव्यस्त बनाउने गरी शिक्षक सरुवा गर्न खोजिएकोमा हाम्रो असन्तुष्टी छ ।’ उहाँले भन्नुभयो-‘शिक्षक सरुवा गर्दा कम्तिमा पनि सम्बन्धित वडाअध्यक्षलाई जानकारी हुनुपर्छ कि पर्दैन ।’

स्थानीय सरकारमा सत्ता पक्ष र प्रतिपक्ष नहुने भएपनि नगरप्रमुख खड्काले त्यो किसिमको व्यवहार गर्नुभएको उहाँको गुनासो छ । ‘शिक्षक सरुवा, बरुवाकै विषयमा नगरप्रमुखले पक्ष कि विपक्ष भन्नुभयो, त्यसपछि पक्षमा ११ मात्रै पाउनुभएको थियो ।’उहाँले भन्नुभयो-‘नगरप्रमुखको त्यो कार्यशैली सुधार नगर्दासम्म हामी सबै कार्यक्रम बहिष्कार गछौँ ।’ यस विषयमा नगरप्रमुख टिकाराम खड्कासंग कुराकानी गर्न खोज्दा उहाँले मोबाइल नै स्विच अफ गर्नुभएको छ ।-रेडियो हाम्रो पहुँचबाट

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार