
दाङ,३ वैशाख । दाङमा लागुऔषधसहित रोल्पाका चार जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१९ दुईखोलीबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पा नगरपालिका–८ का २६ वर्षीय रविन घर्ती मगर, २५ वर्षीय विकास केसी, रोल्पा नगरपालिका–२ का २७ वर्षीय समिप रोका मगर, २५ वर्षीय रिमन पुन मगर रहेका छन् ।
घोराहीबाट रोल्पातर्फ जाँदै गरेका दुई सवारी साधनलाई चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी निरीक्षक सोम घर्तीमगरले जानकारी दिनुभयो ।
प्रहरी चौकी दुईखोलीबाट खटिएको टोलीले रा ४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र.०२–००१ प १३७६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा ब्राउनसुगर जस्तो देखिने लागुऔषध फेला परेको हो ।
उनीहरूको साथबाट प्लास्टिकसहित ५ ग्राम १० मिलिग्राम लागुऔषध र प्लास्टिक हटाएर ४ ग्राम ६२० मिलिग्राम शुद्ध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।