
दाङ, ४ बैशाख।विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि मार्गदर्शन र भिसा सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुरका दुई युवाले ‘ग्लोबल करियर काउन्सिलिङ एण्ड भिसा सर्भिस’ संचालनमा ल्याएका छन्। निश्चल बस्याल र ऋषिकेश बोहराको पहलमा स्थापना गरिएको यो संस्थाकाे बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
प्रतिनिधि सभा सदस्य अनिषा नेपालीले उद्घाटन गर्दै विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई ग्लोबल करियरले सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले स्वदेशमा लगानी गर्ने युवाहरूको प्रशंसा गर्दै देशबाट प्रतिभा पलायन रोक्न चुनौतीपूर्ण भए पनि यस्ता प्रयासहरूले नयाँ आशा जगाउने बताउनुभयो।
संचालक ऋषिकेश बोहराले नेपाली युवाहरूलाई विश्वस्तरीय प्रतिस्पर्धामा सक्षम बनाउने लक्ष्यले संस्था स्थापना गरिएको जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले निजी क्षेत्रलाई राज्यले सम्मानजनक दृष्टिले हेर्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी, चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूको मार्ग सहज बनाउने संस्थाको काम प्रति विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा काउन्सिलर जिना पुरीले संस्थाको सेवा र उद्देश्यबारे विस्तृत जानकारी दिनुभयो भने कार्यक्रमको सहजीकरण पत्रकार आशिष केसीले गर्नुभएको थियो।