२०८२ जेष्ठ १० गते शनिवार

आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा नाै महिनामा झण्डै दुइ अर्ब राजश्व संकलन



दाङ, ५ वैशाख ।आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले चालु वर्षको नौ महिनाको अवधिमा झण्डै दुइ अर्ब राजश्व संकलन गरेको छ । कार्यालयले चालु वर्षको नौं महिनामा एक अर्ब ९३ करोड ३९ लाख ४१ हजार रुपैंया राजस्व संकलन गरेको हो । जुन लक्ष्यको ८५ दशमलव ०५ प्रतिशत हो ।

गत वर्ष २०८०/८१ मा नौं महिनाको अवधिमा ७५ दशमलव ६५ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले यस वर्ष ९ दशमलव ४ प्रतिशतले बढी राजस्व संकलन गरेको हो ।

कार्यालयले गत वर्ष २०८०/८१ मा चैत महिनासम्म दुई अर्ब ७६ करोड ९० लाख ४ हजार रुपैंया राजस्वको लक्ष्य रहेकोमा एक अर्ब ५७ करोड १२ लाख ६९ हजार अर्थात ७५ दशमलव ६५ प्रतिशत राजस्व संकलन गरेको थियो ।

चालु वर्षको नौं महिनामा गत वर्षको तुलनामा राजस्वमा बृद्धि भएको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनासम्मको लक्ष्य दुई अर्ब २७ करोड ३९ लाख ७९ हजार रुपैंया रहेको थियो । चैत महिनासम्मको लक्ष्य अनुसार राजस्व संकलन नभएपनि गत वर्षको तुलनामा बृद्धि भएको कार्यालयका प्रमुख श्रीधर टण्डनले जानकारी दिनुभयो ।

करदाताहरु समयमै आय विवरण पेश र कर दाखिला नगर्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको कार्यालय प्रमुख टण्डनले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ९३ करोड ३९ लाख ४१ हजार रुपैंया राजस्व संकलन भएको छ ।

आयकरबाट एक अर्ब दुई करोड ७९ लाख ७३ हजार रुपैंया, मोहकरबाट ५४ करोड १५ लाख ६ हजार, आन्तरीक अन्तरशुल्क करबाट ३१ करोड २१ लख २९ हजार, व्याजदर करबाट तिन करोड ३० लाख ९३ हजार, बहाल करबाट १९ लाख २२ हजार र अन्य २० हजार गरी एक अर्ब ९३ करोड ३९ लाख ४१ हजार रुपैंया राजश्व संकलन भएको तथ्याङकले देखाएको छ ।

अहिले कार्यालयमा समयमा कर नबुझाउने ४५ प्रतिशत करदाताहरु रहेको कार्यालय प्रमुख टण्डनले बताउनुभयो । यो आर्थिक वर्ष सकिन अब तीन महिनामात्र बाँकी रहेको छ । यो वर्षको लक्ष्य भेटाउन विभिन्न कार्यक्रमहरु गदै आएको कार्यलय प्रमुख टण्डनले बताउनुभयो ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङमा एक लाख बढी करदाताहरु रहेका छन् । व्यक्तिगत स्थाइ लेखा नम्बर लिने एक लाख १६ हजार ७१९ र आयकरमा दर्ता भएका व्यावसायीक रुपमा कारोबारमा रहने गरी ४२ हजार ५७० जना करदाता रहेका छन् ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङको कार्यक्षेत्र दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र प्यूठान जिल्ला रहेको छ । जसमा करदाता सेवा कार्यालय चकचके प्यूठानले प्यूठान र रोल्पा जिल्ला हेर्ने गरेको छ भने करदाता सेवा कार्यालय सल्यानले सल्यानलगाएत रुकुम पूर्व र रुकुम पश्चिम जिल्ला हेर्ने गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार