दाङ,१४ बैशाख । तुलसीपुरमा आफ्नै ससुराकाे हत्या गरि फरार रहेका ज्वाइँ पक्राउ परेका छन् ।
तुलसीपुरकाे नयाँ वसपार्कमा २०६२ सालमा भएको एक हत्या घटनाका मुख्य अभियुक्त २० वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-६ बरुवागाउँका ४२ वर्षीय बिर बहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिनुभयाे।
प्रहरीका अनुसार २०६२ साल साउन १४ गते राति ८ बजेतिर तुलसीपुर-५ नयाँ बसपार्कस्थित कासीराम वि.क.को घरमा झगडाका क्रममा हत्या भएको थियो। तुलसीपुर-८ घर भई नयाँ बसपार्कमा तरकारी पसल गर्दै आएका काशीराम वि.क. र उनकी कान्छी श्रीमती शोभा वि.क.बीच घरायसी झगडा भइरहेका बेला पाहुना आएका गुरुङले बीचमा हस्तक्षेप गर्दा झगडा चर्किएको थियो।
मादक पदार्थ सेवनको नशामा रहेका गुरुङले कासीरामलाई हात र खुट्टाले कुटपिट गर्दा उनी भुइँमा लडेकाे र घटनास्थलमै मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हत्या गरी फरार भएका गुरुङ लामो समय भारतमा लुकीछिपी बसेका थिए। पछिल्लो समय उनी तुलसीपुर-१२ टरिगाउँमा लुकीछिपी बसिरहेको गाेप्य सूचनाका आधारमा प्रहरीले शुक्रबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
हाल गुरुङलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

