तुलसीपुर, १९ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो ३० औं वार्षिक साधारणसभा विगतको तुलनामा फरक ढंगले सञ्चालन गर्न थालेको छ । शनिवार हुने
कार्यक्रम परम्परागतगत ढंगले चल्दै आएकोभन्दा फरक तरिकाले सञ्चालन गरेर समाजमा नयाँ कोण दिन खोजिएको संघका अध्यक्ष विनिल केसीले बताउनुभयो ।
विद्यमान समयमा समाजका सबैजसो क्षेत्रका कार्यक्रमहरुमा उपस्थित हुने सहभागीहरुलाई यो कार्यक्रमबाट कुन-कुन कुराबारे जानकारी लिन सकिन्छ भन्ने अनभिज्ञता हुन्छ । कर्यक्रममा अतिथिहरुका भाषण विषयवस्तुभन्दा बाहिर जाने
तथा कतिपय अवस्थामा कुण्ठा पोख्ने थलो पनि बन्ने गरेको सबैले भोगेकै विषय हुन् । ती कुराहरुलाई मध्यनजर गरेर हाल उद्योग वाणिज्य संघको टिमले यसलाई कसरी नयाँ गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर अतिथिहरुले धारणा राख्ने विषयवस्तु र समय निर्धारण गरेको अध्यक्ष केसीले बताउनुभयो । ‘सधैं पुरानै शैलीमा चल्नु उपयुक्त हुँदैन । युवा पुस्ताले नयाँ ढंगले सोच्नुपर्छ ।विगतमा हुँदै आएका र सुधार गर्नुपर्ने विषयलाई सुधारको प्रयास थालेका मात्रै हौं । हामीलाई विश्वास छ, यो प्रयासले समाजमा नयाँ संस्कारको
स्थापना हुनेछ’-उहाँले भन्नुभयो- ‘हामीले धेरै कार्यक्रमहरुमा आयोजक र सहभागीले एउटा कुराको अपेक्षा गरेको तर अतिथिले त्योभन्दा बाहिर गएर आफ्ना धारणा राख्ने गरेको परिस्थिति भोग्दै आएका छौं । उद्योग वाणिज्य संघ नितान्तरुपमा उद्योग, उद्यमशिलता र व्यवसायसँग जोडिने भएकोले अतिथिका धारणा यही पेरिफेरिमा रहुन् भन्ने सोचका साथ यो ढंगले कार्यक्रम सञ्चालन
गर्न थालेका हौं ।’
कार्यक्रममा प्रमुख अतिथिदेखि अन्य अतिथिहरुले धारणा राखिदिनुपर्ने विषयमा उद्योग वाणिज्य संघले शीर्षक र समय निर्धारण गरिदिएको छ । समाजका विभिन्न क्षेत्रमा जोडिएर काम गर्नुभएका व्यक्तिहरुलाई अतिथिको रुपमा
सहभागी गराएर उहाँहरुले काम गर्नुभएको क्षेत्र र उद्योग वणिज्य संघले गर्दै आएका र गर्नुपर्ने कामको बिचमा कसरी सहकार्य गर्न सकिन्छ भन्न विषयमा शीर्षक र समय निर्धारण गरेर अतिथिहरुलाई जानकारी गराइसकिएको संघका प्रेस सल्लाहकार शरद रेग्मीले बताउनुभयो । ‘अतिथिहरुले बोलेका कुरा सहभागीहरुले भाषणको रुपमा नभएर ज्ञानको रुपमा ग्रहण गरुन् भन्ने चाहनाका साथ यो नयाँ प्रयास गरेका छौं’- उहाँले भन्नुभयो- ‘विषयवस्तुअनुसार प्रमुख अतिथिलाई पनि समय निर्धारण गरिएको छ । यसको अर्थ समयको ख्याल गरौं र विषयवस्तु केन्द्रित होऔं भन्ने हो ।’
शनिवार बिहान ११ बजेदेखि तुलसीपुर-९ दोघरेमा रहेको उवासंघको सभा हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको छ । कार्यक्रममा उपस्थितिका लागि संघका महासचिव केशबराज केसीले सबै सरोकारवालाहरुलाई आमन्त्रण गर्नुभएको छ ।
कार्यक्रममा अतिथिहरुलाई उहाँहरुको क्षेत्रगत विज्ञताका आधारमा विश्व बजारमा पर्यटन तथा महिला उद्यमशीलताका सवालमा अवसर र चुनौति, स्थानीय तह र निजी क्षेत्रको सहयात्रा, उद्यमशीलता
प्रवद्र्धनमा पत्रकारिताको भूमिका, व्यवसायीहरुमा कर शिक्षाकोआवश्यकतालगायतका विषयहरु निर्धारण गरिएको महासचिव केसीले जानकारी दिनुभयो
।

