
दाङ, २४ वैशाख । दाङको राप्ती गाउँपालिका-१, भालुबाङ पुलचोक नजिकैबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, मंगलबार साँझ घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको टोलीले गाडीको जाँच गरेको हो ।
गाडीमा सवार ऐरावती गाउँपालिका-२ बह्राखुट्टीकी २० वर्षीया सरिता सार्कीको रीतपूर्वक खानतलासी गर्दा महिलाले भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त महिला पक्राउ गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार