
रोल्पा,४ बैशाख । लागू औषध चरेस सहित रोल्पामा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाले माडी गाउँपालिका वडा नम्बर २ काे एक मोटरसाइकल वर्कसपबाट लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरेको हाे।
लागू औषध रहेको विशेष सूचनाको आधारमा प्रहरीको टोलीले छापा मार्दा प्रतिबन्धित लागू औषधसहित चार जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा माडी गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय राजन गुप्ता, २२ वर्षीय सुमन बुढामगर, २३ वर्षीय लोकेन्द्र बुढामगर र रोल्पा नगरपालिका वडा नम्बर २ मुलपानीका २८ वर्षीय भुपेन्द्र डाँगी रहेकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंले जानकारी दिनुभयो।
प्रहरीका अनुसार उनीहरूको साथबाट कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको ८.८५ ग्राम लागुऔषध (चरेस) बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पक्राउ परेकाहरूलाई रोल्पा जिल्ला अदालतबाट १० दिनकाे म्याद थप गरेर अनुसन्धान भैरहेकाे छ ।