
दाङ, ५ जेठ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पत्रकार सागर सुवेदीसँग गरेको अभद्र व्यवहारप्रति प्रेस सेन्टर तुलसीपुरले गम्भीर आपत्ति जनाएको छ ।
सोमबार बिहान पत्रकार सुवेदीले घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत संक्राम खोलाको पुलमाथिको सडकको अवस्थाबारे मेयर खड्कासँग प्रश्न सोध्दा मेयरले उहाँको मोबाइल खोसेर दुर्व्यवहार गरेको आरोप लागेको छ। पत्रकार सुवेदी प्रेस सेन्टरमा आवद्ध हुनुहुन्छ ।
प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सञ्चारकर्मीमाथिको यस्तो व्यवहार प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा माथिको खुला आक्रमण हो। यो घटनाले लोकतान्त्रिक मूल्य-मान्यता र अभिव्यक्ति स्वतन्त्रतालाई नै चुनौती दिएको छ।”
घटनाले सञ्चारकर्मीहरूमा त्रास फैलाउने र निष्पक्ष पत्रकारिता कमजोर पार्ने चेतावनी दिँदै प्रेस सेन्टरले तत्काल छानबिनको माग गरेको छ। यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।