
दाङ,८ असार । दंगीशरण गाउँपालिका-२ सरुवाडाँडाकी शारदा थारु समुदायको पुरानो परम्परा ढकिया बुनाइलाई आधुनिक व्यवसायमा रूपान्तरण गर्ने संकल्पसहित अघि बढेकी छिन्। “हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड” की व्यवस्थापक रहेकी सारदाले कृषि वन सहज कार्यक्रमको सहायतामा ढकिया बनाउने तालिम लिइन्।
तालिमपछि उनले ‘गनारी महिला ढकिया उद्यमी समूह’ गठन गरी अध्यक्षको जिम्मेवारी सम्हालिन्।”पहिला परम्पराको रुपमा मात्रै ढकिया बुनिन्थ्यो, अहिले यो सीप आम्दानीको स्रोत बनेको छ,” शारदा भन्छिन्।
“विदेश गएर कमाउने सपना सबैको हुन्छ, तर मलाई लाग्यो आफ्नै माटोमा केही गरौं,” शारदा चौधरी बताउँछिन्,। देशभरि युवायुवती रोजगारी र अध्ययनका लागि विदेश पलायन भइरहेका बेला दाङकी सारदा भने गाउँमै बसेर उद्यममार्फत न केवल आफैं आत्मनिर्भर बनेकी छिन्, बरु अरू महिलालाई पनि सीप र अवसर दिँदैछिन्।
शारदा र उनको समूहले बनाउने ढकियाहरू जस्तै कलमदानी, हटकेस, डस्टबिन, चकटी लगायतका सामग्री काठमाडौंमा पठाइन्छ। त्यहाँबाट अमेरिका र क्यानडासम्म निर्यात हुन्छन्। यी उत्पादनहरू बनाउन आवश्यक काँस, बाबियो र खरजस्ता कच्चा पदार्थ सामुदायिक वनमै पाइन्छन्। स्थानीय स्रोतको सदुपयोग गर्दै सारदाले महिलाहरूको जीवनस्तरमा सुधार ल्याउने काम गरिरहेकी छन्।
“हामीले हालसम्म ३ लाख रुपैयाँभन्दा बढी ढकिया बिक्री गरेका छौं,” उनी गर्वसाथ भन्छिन्, “परम्परागत सीपलाई मूल्य दिएर बजारसम्म पुर्याउँदा आत्मगौरवको अनुभव हुन्छ।“
शारदाको सफलता आफैंसम्म सीमित छैन। उनी अहिले ढकिया बनाउने प्रशिक्षकका रूपमा पनि सक्रिय छिन्। हालै उनले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का १५ जना थारु महिलालाई १५ दिने तालिम दिइन्। तालिम ग्रिन फाउन्डेसन दाङले, स्थानीय सरकारको सहयोगमा सञ्चालन गरेको थियो।
“पहिले मलाई पनि ढकिया बनाउने सीप थिएन,” शारदा सम्झिन्छिन्, “तालिम लिएपछि बनाउने मात्र होइन, बेच्न पनि सिकेँ। अहिले म दिदीबहिनीलाई सिकाउँदैछु।”
उनले अगाडि सारेको यो उद्यमले थारु समुदायभित्र महिला सशक्तिकरण र सीपमूलक रोजगारीको नयाँ ढोका खोलेको छ। सामान्यतया घरभित्रै सीमित महिलाहरू अहिले समूहमा आबद्ध भई आयआर्जनमा लागेका छन्।
शारदा भन्छिन्, “सीप सिकेपछि आत्मविश्वास बढ्छ, घरभित्र बस्ने महिलाहरू पनि अब आम्दानी गर्ने बनिरहेका छन्।”
स्वदेशमै सम्भावना, विदेश जानै पर्दैन
शारदाको यो उद्धमशिलता कर्म एक उद्यमी महिलाको कथा मात्र होइन, यो स्वदेशमै सम्भावनाको खोजी गर्ने सबै युवाको लागि प्रेरणाको स्रोत पनि हो। “उनी भन्छिन् -विदेश जानै पर्दैन, आफ्नो थलोमा पनि केही गर्न सकिन्छ,” ।