दाङ, २४ भदौ । नेपाल वायुसेवा निगमले अबदेखि तुलसीपुरको टरिगाउँ विमानस्थलमा हप्ताको एक दिन, अर्थात्, शुक्रबार मात्र उडान भर्ने भएको छ ।
निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएपछि यस्तो निणर्य गरिएको हो । निगमका दाङ प्रमुख बलबहादुर सुनारका अनुसार हाल प्रत्येक शुक्रबार मात्र उडानको व्यवस्था गरिएको छ ।
हप्ताभर उडान गर्ने योजना भएपनि अहिले निगमसँग एक मात्र जहाज रहेकोले हप्ताको एक दिन मात्र उडान भर्ने नीति लिइएको उहाँले बताउनुभयो ।
हाल प्रत्येक शुक्रबार दिउँसो १२ बजे टरिगाउँमा जहाज आइपुग्ने र १२ः२० मा काठमाडौँ फर्किने समयतालिका रहेको छ । दाङबाट काठमाडौँ जाने भाडा सात हजार एक सय रुपैयाँ तोकिएको छ भने काठमाडौँबाट दाङ आउँदा यात्रुले सात हजार दुई सय ५० रुपैयाँ तिर्नुपर्ने छ ।
तर, दाङबाट काठमाडौँ जाने यात्रुको संख्या न्यून रहेकाले नियमित उडानको सम्भावना तत्काल देखिएको छैन। सुनारका अनुसार नियमित उडान नहुँदा यात्रुहरू वैकल्पिक रूपमा भैरहवा वा नेपालगञ्जबाट यात्रा गरिरहेका छन्।
गत शुक्रबार काठमाडौँका लागि टरिगाउँबाट एक जना मात्र यात्रु रहेको र यसअघि विमानसेवा केही महिना अनियमित भएको पनि जानकारी गराइएको छ । विमानस्थललाई नियमित बनाउन विभिन्न तहबाट पहल भए पनि सफल भएको छैन ।
टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो। हाल यसको ७५० मिटर धावनमार्गमा १९ सिटे जहाज मात्र अवतरण गर्न सक्छ। धावनमार्गको लम्बाइ १,५०० मिटर पुर्याइएमा ७२ सिटे जहाजको उडान सम्भव हुने र सेवा नियमित हुने अपेक्षा गरिएको छ।

