२०८३ बैशाख १८ गते शुक्रवार

सुबिधा महिला कृषि सहकारीको आठौँ साधारणसभा सम्पन्न



तुलसीपुर, ३ कात्तिक।

सुबिधा महिला कृषि सहकारीले आफ्नो आठौँ साधारणसभा सम्पन्न गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को नवलपुरमा रहेको सो संस्थाले आज(शनिबार) साधारणसभा आयोजना गरेको हो।

संस्थाका अध्यक्ष अरुणा राना मगरको अध्यक्षता तथा तुलसीपुर वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यता एवम्  वडा नम्बर ४ का  अध्यक्ष तुलसी थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

उक्त अवसरमा प्रमुख अतिथी जिसीले सहकारीको माध्यमबाट सदस्यहरू आत्मनिर्भर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सहकारी मार्फत सदस्यहरू आत्मनिर्भर भएको बताउँदै उहाँले आर्थिक समृद्धिका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँले देशको तीन खम्बे अर्थनीतिमा सहकारीलाई एउटा खम्बाको रूपमा समेटिएको उल्लेख गर्नुभयो।

सानो रकमबाट पनि नागरिकलाई सहकारीमा आबद्ध गराउन सकिने भएकाले सहकारी मार्फत नागरिकहरू आर्थिक रूपमा सक्षम बन्न सक्ने बताउनुभयो।

विशिष्ट अतिथी थापाले किसानहरूलाई बचत गरेर धनी हुन चनाखो बन्नुपर्ने बताउनुभयो। पछिल्लो समय देशभरि सहकारी प्रति नकारात्मक धारणा बढ्दै गएकोले सदस्यहरूले चनाखो बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।  सहकारी संस्थाले वितरण गर्ने रासायनिक मल वितरण प्रणालीमा गुनासो आउने गरेकोले त्यसतर्फ ध्यान दिन सञ्चालकहरूलाई आग्रह गर्नुभयो। संस्थाको सदस्य नभएमा रासायनिक मल नपाएको गुनासो आउने भएकाले सो समस्या समाधानका लागि संस्थाले वडा सरकारसँग समन्वय गर्नुपर्ने उहाँकाे भनाइ थियाे।

कार्यक्रममा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, संस्थाका सदस्य राजकुमारी थापा, मधु खनाल लगायतले बोल्नुभएको थियो। संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन अध्यक्ष रानाले पेश गर्नुभएको थियो।

संस्थाका सचिव रानीकला रोकाको स्वागत मन्तव्यबाट सुरु भएको सभाको सहजीकरण सह-सचिव सिता मल्लले गर्नुभएको थियो।

साधारणसभामा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ। उत्कृष्ट शेयर सदस्यको रुपमा तुलसीपुर–७ नवलपुरकी कामना पुन, उत्कृष्ट किसानको रुपमा तुलसीपुर–४ खाद्रेकी खन्चु पुनलाई क्रमशः नगद रु ५ सय ५ सहित प्रशंसापत्रले सम्मान गरिएको हो।

त्यस्तै अपाङ्गता सम्मानमा तुलसीपुर-४ बनहरीकी सुनिता कामी, खारखोलाकी गीता रावतलाई नगद रु ५ हजार ५ र सम्मानपत्रले सम्मानित गरिएको छ। संस्थाको उत्कृष्ट समूहको रुपमा यसवर्ष तुलसीपुर-४ मा रहेको दद्रेनी समूहलाई नगद रु ५ हजार ५ सहित सम्मान गरिएको छ।

संस्थाले नियमित, बाल, पेन्सन बचत तथा विभिन्न ऋण कारोबार गर्दै आएको छ। कृषिमा आश्रित सदस्यहरूलाई कृषिजन्य सामग्री, रासायनिक मल, थ्रेसर मेसिन समेत उपलब्ध गराउँदै आएको छ। खाद्रेमा १० कठ्ठा जग्गा भाडामा लिएर गत वर्षदेखि वेसार तथा अदुवा सामूहिक रुपमा खेती गर्दै आएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार